FLASH NEWS

समाजवादी मोर्चा संयोजनको जिम्मा माधव नेपाललाई, चार सदस्यीय कार्यदल गठन


नेपाल आवाज २३ असार २०८०, शनिबार १८:२८ मा प्रकाशित १४८९ पाठक संख्या

काठमाडौं – चार दल सम्मिलित समाजवादी मोर्चाको पहिलो बैठक सकिएको छ ।


नयाँ बानेश्वारस्थित नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा बसेको बैठकले मोर्चाको आगामी नीति र आचारसंहिता बनाउनका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलले बैठकको अध्यक्षताकाे माेडालिटी, मार्चाको आगामी नीति तथा कार्यक्रम र आचारस‌ंहिता बनाउने छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपा नेता खड्गबहादुर विश्वकर्मा कार्यदलका सदस्य रहेका छन् ।

कार्यदलले मोर्चाको आगामी नीति र आचारसंहिता तय गर्ने नेकपा (एकीकृत समाजवादी) पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

उनले माेर्चाको अर्काे बैठकले अध्यक्षताका सन्दर्भमा माेडालिटी नबनाउँदासम्म नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालले बैठकको अध्यक्षता गर्ने बताए ।

मोर्चा गठन भएको २३ दिनपछि बसेको बैठकले सातै प्रदेशमा कार्यक्रम गर्ने भएको छ । २७ गते कार्यक्रमको मिति घोषणा हुने पाण्डेले बताए ।

यस्तै हरेक ६ महिनामा मोर्चाको अध्यक्ष एकजनाले गर्ने विषयमा पनि छलफल भएको छ । ६-६ महिनामा अध्यक्ष गर्ने व्यक्ति परिवर्तन हुने नीति २७ गतेको बैठकले तय गर्ने उनले बताए ।