FLASH NEWS

एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेर गल्ती गर्‍यो : राजेन्द्र पाण्डे


नेपाल आवाज २३ असार २०८०, शनिबार २१:१० मा प्रकाशित १४६५ पाठक संख्या

काठमाडौं – सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले स्पष्टिकरणको मौका समेत नदिई प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेर गल्ती गरेको टिप्पणी गरेका छन्।


शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुले सोधेको सवालमा उनले यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागेर एमाले फसेको उनको भनाइ थियो ।

उनले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने निर्णय लिएको बताउँदै भने, ‘गठबन्धन सरकारमा सामेल भएका सबै दलहरु बालुवाटारमा अस्ति नै बसेको बैठकमा उपस्थिति थियौँ । राजीनामा गर्नुपर्दैन । एक त एमालेले असंसदीय, गैरसंसदीय व्यवहार देखायो । प्रधानमन्त्रीको राजीनामाको प्रश्न थियो भने पनि उहाँहरुले बोल्नु पर्दथ्यो । संसद्मा माग गर्ने विषय हुन्थ्यो । र, राजीनामा लिएर आऊ भन्ने कुरा हुँदैन । संसद्मा उहाँहरुले कुरा उठाउन सक्नुहुन्थ्यो । के बोलेको हो तपाईंले भनेर प्रधानमन्त्रीसँग स्पष्टीकरण माग्न सकिन्थ्यो । तर, उहाँहरुले पहिल्यै राजीनामा माग्नु भयो । मलाई लाग्छ, संसदीय मोर्चामा एमाले पार्टी फस्यो । यो गलत काम हो ।’

केही दिनअघि प्रितम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ । प्रधानमन्त्रीले राजनीनामा दिर्नैपर्ने एमालेको अडानका कारण बुधबारदेखि संसद बैठक अवरुद्ध भएको छ । शुक्रबार बस्ने संसद बैठकमा प्रधानमन्त्रीले जवाफ दिने बताइएको थियो । तर, शुक्रबार पनि एमालेले संसद चल्न दिएन ।