FLASH NEWS

बाबुराम भट्टराईको आरोप- सत्तादोहन गर्न समाजवादी मोर्चा बनाइयो


नेपाल आवाज २४ असार २०८०, आईतवार ०९:०६ मा प्रकाशित १२४९ पाठक संख्या

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले समाजवादी मोर्चामा नरहनुको कारणबारे प्रस्टीकरण दिएका छन् ।


माधवकुमार नेपाल नेतृत्वमा समाजवादी मोर्चाको काम कारबाहीअघि बढेलगत्तै भट्टराइले सामाजिक सञ्जालमार्फत सो स्पष्टीकरण दिएका हुन् ।

पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक र राजनीतिक विषयप्रतिको अरूची, अनिच्छा, खालि तत्कालीन संसदीय अंक गणितप्रतिको अतिशय लिप्साको प्रतिफल स्वरूप हामीसँग कुनै परामर्श र छलफल विनै रहस्यमय ढंगले कथित ‘समाजवादी मोर्चा’ को एकतर्फी घोषणा हुनपुग्यो,’ उनले भनेका छन् ।

मोर्चासँग नयाँ युगको नयाँ ढंगको समाजवादवारे कुनै स्पष्ट सोच नभएको भट्टराईको भनाइ छ । ‘सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन, किनकि त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठुलो घात हो,’ उनी भन्छन् ।

शनिबार समाजवादी मोर्चाको पहिलो बैठक बसेको थियाे। बैठकले मोर्चाको आचारसंहिता, नीति, कार्यक्रम निर्माणका लागि ४ सदस्यीय कार्यदल गठन गरेको छ। साथै बैठकले सबै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने बताएकाे छ।