FLASH NEWS

नर्सिङ लाइसेन्सको प्रश्नपत्र लिक गरेको आरोपमा ३ जना पक्राउ


नेपाल आवाज २४ असार २०८०, आईतवार १०:१० मा प्रकाशित १२७९ पाठक संख्या

काठमाडौं – नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले तीन जना परीक्षार्थीलाई पक्राउ गरेको छ।


काउन्सिलले शनिबार लिएको परीक्षामा सिद्धार्थ बनस्थलीमा रहेको परीक्षा केन्द्रबाट तीन जना विद्यार्थीले प्रश्नपत्रको फोटो खिचेर बाहिर पठाएको फेला पारेपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको प्रहरी वृत्त बालाजुका डिएसपी मोहनजित कुँवरले जानकारी दिए ।

पक्राउ पर्ने परीक्षार्थीमा कास्कीकी २० वर्षीया समीक्षा थापा, धादिङकी २३ वर्षीया सविना आले र कास्कीकी २० वर्षीया भावना गुरुङ छन् ।

प्रश्नपत्रको फोटो खिचेर म्यासेन्जर ग्रुपमा हालेर बाहिर पठाउनुका साथै सामाजिक सञ्जालमा सार्वजनिक गर्ने तीन जनामाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

उनीहरुले ग्रुपमा आएको उत्तर उनीहरुले उत्तरपुस्तिकामा सारेका थिए । प्रहरीले परीक्षार्थीका मोबाइल पनि बरामद गरेको छ ।

यता, प्रहरीले प्रश्नपत्र आउट गर्ने तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेसँगै नेपाल नर्सिङ काउन्सिलले आकस्मिक बैठक बसी उक्त परीक्षाको नतिजा स्थगन गरेको छ।

काउन्सिलले एक सूचना जारी गर्दै विशेष कारणले परीक्षाको नतिजा स्थगित गर्न परेको जानकारी गराएको हो ।