FLASH NEWS

गायक रविन तामाङलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली


नेपाल आवाज २४ असार २०८०, आईतवार १३:१९ मा प्रकाशित १८२५ पाठक संख्या

काठमाडौं – दिवंगत गायक तथा अभिनेता रविन तामाङप्रति राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिइएको छ ।


नेपाल संगीत तथा नाट्य एकेडेमीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उहाँको पार्थिव शरीरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय झण्डा ओढाउनुभयो ।

त्यहाँ उपस्थित मन्त्री, नेता, शुभेच्छुक र अन्य कलाकर्मीहरुले फूलमाया चढाएर तामाङप्रति श्रद्धासुमन व्यक्त गरे ।

कार्यक्रममा मन्त्री किराँतीले श्रष्टाहरुको निधनपछि श्रद्धाञ्जलीका लागि राख्ने व्यवस्थित ठाउँ पनि नभएको भन्दै आफ्नै कार्यकालमा व्यवस्थित भवन बनाउने बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कलाक्षेत्रले उज्ज्वल नक्षत्र गुमाएको भन्दै सरकारको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस महामन्त्री गगन थापाले तामाङ समकालीन पुस्ताको चर्चित गायक भएको भन्दै उनलाई गुमाउनुपर्दा दु:खी भएको बताउनुभयो ।

गायक तामाङको सम्मानमा उनका दुई चर्चित गीतहरु केटाकेटी र गुलाबको गाएर ट्रिब्यूट गरिएको थियो । श्रद्धाञ्जली दिन उहाँका प्रशंसक र कलाकर्मी बिहानैदेखि नक्सालस्थित एकेडेमीको परिसरमा पुगेका थिए । संगीतकार संघ र एकेडेमीको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको संगीतकार चेतन सापकोटाले जानकारी दिनुभयो ।

मंगलबार तामाङ बुढानिलकण्ठस्थित निवासमा मृत भेटिनुभएका रविन तामाङको पार्थिव शरीरलाई आजै शोभा भगवतीमा अन्तिम संस्कार गर्ने तयारी छ ।