FLASH NEWS

प्रधानमन्त्री ‘प्रचण्ड’को कारण संसद् बन्द भएको ओलीको आरोप


नेपाल आवाज २४ असार २०८०, आईतवार १६:४९ मा प्रकाशित १३६३ पाठक संख्या

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कारण संसद् बन्द भएको आरोप लगाएका छन्।


आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले एमालेका कारण नभइ प्रधानमन्त्रीका कारण संसद् बन्द भएको बताएका हुन्।

ओलीले संसद् सञ्चालन गर्न आफूहरु सकारात्मक भए पनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरु फिर्ता नभएकाले सहमति नभएको बताए।

ओलीले प्रधानमन्त्री प्रचण्डको राजीनामाको अडान दोहोर्‍याएका छन्। ‘संसद प्रधानमन्त्रीले बन्द गराउनु भएको हो, हामीले होइन। उहाँले हामीमाथि गम्भीर आरोप लगाउनु भएको छ, त्यो फिर्ता लिनु भएको छैन। त्यो कायम राखेर सहमति हुँदैन,’ओली भने।

प्रधानमन्त्री प्रचण्डले २१ गते एमालेमाथि गम्भीर लाञ्छना लगाएको भन्दै त्यो फिर्ता लिनुपर्ने ओलीको अडान थियो।

‘प्रचण्डको २१ गतेको वक्तव्य हेर्नुहोस हाम्रो राजीनामा नै माग छ। राजीनामा दिएपछि सहमति जुट्छ,’ उनले भने।

यसअघि आइतबार नै सिंहदरबारमा सदनको गतिरोध अन्त्य गर्ने विषयमा शीर्ष दलको बैठक बसेको थियो ।