FLASH NEWS

ललिता निवास प्रकरण : सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ


नेपाल आवाज २४ असार २०८०, आईतवार १७:४७ मा प्रकाशित ११८३ पाठक संख्या

काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्। प्रहरीले आइतबार राउतलाई नियन्त्रणमा लिएको हो।


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोकी एआइजी किरण बज्राचार्यले सञ्चार सचिव राउतलाई पक्राउ गरिएको जानकारी दिइन्। सीआईबीले पक्राउबारे प्रधानमन्त्री कार्यालय र मुख्य सचिवको सचिवालयलाई जानकारी गराइसकेको छ ।

राउत २०७८ पुस २१ मा सचिव भएका थिए। राउतविरूद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो। उनलाई आइतबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो।

भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले नक्कली मोहीलाई ललिता निवासको जग्गा दिने निर्णयको टिप्पणी उठाएका थिए। उनको त्यही भूमिकाबारे थप अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको हो।

सीआईबीले आइतबारै यो प्रकरणमा समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याललाई पनि पक्राउ गरेको छ ।

बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी जग्गा हिनामिना गरेको प्रकरणमा राउतसहित थप ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।