FLASH NEWS

राजसंस्थाबारे धारणा बनाउन राप्रपा नेपालले बनायो समिति


नेपाल आवाज २५ असार २०८०, सोमबार ०१:०२ मा प्रकाशित ८७७ पाठक संख्या

काठमाडौं – राजसंस्थाबारे धारणा बनाउन कमल थापा नेतृत्वको राप्रपा नेपालले समिति गठन गरेको छ ।


पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले राजसंस्थासम्बन्धी पार्टीको नीति पुनर्विचारसहित पार्टीको आधिकारिक धारणा तय गर्न उपाध्यक्ष प्राडा विष्णुबहादुर भण्डारीको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिको सदस्यमा केशवराज श्रेष्ठ, बसन्तमान सिंह अधिकारी, हिक्मत बहादुर ढकाल, प्रा. नरप्रसाद थापा, माधव खत्री, रामनरेश यादव, सुनिता कुरुम्बाङ र सदस्य सचिवमा राजाराम बर्तौला ‘चुनेली’ छन् ।

समितिलाई एक महिनाभित्र सुझावसहितको प्रतिवेदन बुझाउन समयसीमा तोकिएको छ ।

यसैगरी, सनातन धर्म संस्कृतिको रक्षा र प्रवर्द्धन गर्नका लागि राष्ट्रिय सनातन धर्म संस्कृति परिषद् नेपाल गठन गर्ने निर्ण बैठकले गरेको छ । सो परिषद्को अध्यक्षमा प्राडा बिष्णु बहादुर भण्डारीलाई मनोनयन गरिएको छ ।

त्यसैगरी, पार्टीसँग आवद्ध भ्रातृ सङ्गठनहरू राष्ट्रिय खेलकुद संगठन नेपालको अध्यक्षमा दमन बस्नेत, राष्ट्रिय किसान संगठन नेपालको अध्यक्षमा डम्बर प्रसाद शिवाकोटी, सदस्य सचिवमा जनक फडेरा, राष्ट्रिय अपाङ्ग संगठन नेपालको अध्यक्षमा धनप्रसाद न्यौपाने र राष्ट्रिय मुस्लिम संगठन नेपालको अध्यक्षमा मोहम्मद खालिद इकवाल इराकीलाई जिम्मेवारी तोकिएको छ ।

साथै, पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी २०८० भदौको दोस्रो हप्ता काठमाडौंमा बोलाउने निर्णय गरिएको प्रवक्ता बसन्तमान सिंह अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।