FLASH NEWS

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा


नेपाल आवाज २५ असार २०८०, सोमबार ११:४२ मा प्रकाशित १०१५ पाठक संख्या

काठमाडौं – कोशी प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता उद्धव थापालाई नियुक्ति दिने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ।


सर्वोच्चमा दायर भएको रिट सुनुवाईका लागि न्यायाधीश सुष्मालता  माथेमाको एकल इजलासमा पेसी तोकिएको छ ।

हिजो न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएकोमा हेर्न नभ्याउनेमा परेको थियो ।

गत शुक्रबार प्रदेश प्रमुख खापुङले कांग्रेस नेता थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि आवश्यक ४७ सांसदको समर्थन जुटाउन नसकेपछि सभामुख गौतमकोसमेत हस्ताक्षर बुझाइएको थियो ।

माओवादी केन्द्रका तर्फबाट सभामुख निर्वाचित भएका बाबुराम गौतमले सभामुखमा निर्वाचित भएकै दिन दल त्याग गरिसकेको कारण सरकार बनाउने र गिराउने खेलमा लाग्नु असंवैधानिक रहेको ठहरसहित निवर्तमान मुख्यमन्त्री हिक्मतकुमर कार्कीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

कार्कीले असंवैधानिक रूपमा भएको थापाको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि परमादेश माग गरेका छन् ।