FLASH NEWS

सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न प्रधानमन्त्रीको आह्वान


नेपाल आवाज २५ असार २०८०, सोमबार १३:२४ मा प्रकाशित ११४७ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गरेका छन्।


सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार- २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले समाजवादी संस्कृति निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गरे।

उनले जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादउन्मुख राज्यनिर्माणको संकल्प गरिसकेका कारण सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री दाहालले भने, ‘राजनीति, इतिहास, साहित्य, संस्कृति र विज्ञानको क्षेत्रमा भएको सिर्जनाशीलताले देशको सर्वोपरी विकास समृद्धि र समुन्नत समाज निर्माणमा मद्दत पुग्दछ। यो पुरस्कारबाट पुरस्कृत प्रतिभाहरुको प्रेरणाबाट यस क्षेत्रमा लागिरहनुभएका अन्य श्रष्टाहरूलाई पनि आफ्नो आफ्नो क्षेत्र तथा विधाबाट राष्ट्रलाई योगदान गर्न प्रोत्साहन मिल्नेछ। जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादउन्मुख राज्यनिर्माणको संकल्प गरिसकेका कारण सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्नेमा सायदै कसैको विमति नहोला। समाजवादी संस्कृति निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्नसमेत यहाँहरूबाट महत्त्वपूर्ण योगदान हुनेछ।’

उनले पुष्पलालले नेपालको राजनीतिक आन्दोलन मात्र नभइ सिंगो देशको आन्दोलनमा समेत विशिष्ट योगदान गरेकाे पनि बताए।

पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८० बाट कमलप्रसाद कोइराला, डा. बालचन्द्र मिश्र र गोपालप्रसाद थपलियालाई सम्मान गरिएको छ।