FLASH NEWS

नैतिकता भन्ने चिज जिवित छ भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : राजेन्द्र लिङ्देन


नेपाल आवाज २५ असार २०८०, सोमबार १७:०६ मा प्रकाशित १२६७ पाठक संख्या

काठमाडौं- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डमा नैतिकता छ भने तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।


‘बहालावाला प्रधानमन्त्रीले कुनै व्यक्तिलाई देखाएर पटक पटक दिल्ली जानु भएको थियो भन्नु आपत्तिजनक विषय हो । यो सामान्य कुरा होइन, नैतिकता भन्ने चिज जिवित छ भने प्रधानमन्त्रीले  दिनुपर्छ । राजीनामा दवावले मागिने कुरा होइन’, प्रतिनिधिसभामा बोल्दै लिङ्देनले भने ।

उनले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रियतासँग जोडिएको विषय भएको भन्दै यसमा सामान्य विषय नभएको स्पष्ट पारे ।  उनले वर्तमान संसदमा केही राजनीतिक दलमात्रै नभएर थुप्रै दलहरु रहेको बताए ।

राष्ट्रिय महत्वका मुद्दाहरुमा ३ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षहरुले मात्र बसेर निर्णय गर्ने गरेकोमा उनले आपत्ति जनाए । ३ दल र ३ दलका नेताले गरेका निर्णय आफूहरुलाई मान्य नहुने उनले बताए ।

‘घरीघरी ३ दल, ३ नेता बसेर सबै राजनीतिक विषयमा निर्णय गरे हाम्रा लागि मान्य हुन्न’, उनले भने, ‘कोही कसैको निर्णयको भारी बोकेर हिँड्न तयार छैन ।’

‘पहिलो र दोस्रो दल मिल्यो भने मात्र सरकार बन्न सक्छ,’ संसदको गणिततिर संकेत गर्दै उनले भने, ‘पहिलो र दोस्रो दल मिलेन भने अरु दुईटा दल मिलेर सरकार बन्दैन, धेरै मिल्नुपर्छ ।

आफूहरुले राष्ट्रियताको विषय उठाएर संसद अवरुद्ध गर्दा मिटर ब्याज पीडितलाई न्याय दिने अध्यादेश पारित हुन दिएनन् भन्ने गलत आरोप लगाएको लिङ्देनले बताए ।