FLASH NEWS

ललिता निवास प्रकरण : अतिरञ्जित र भ्रामक रूपमा प्रकाशित सामग्रीबारे सिआईबीको ध्यानाकर्षण


नेपाल आवाज २५ असार २०८०, सोमबार २३:०६ मा प्रकाशित १३२७ पाठक संख्या

काठमाडौं- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अतिरञ्जना नगर्न आग्रह गरेको छ ।


सोमबार सिआईबीका प्रवक्ता (एसपी) सञ्जयसिंह थापाले विज्ञप्ति प्रकाशित गरी त्यस्तो आग्रह गरेका हुन् ।

कसुरसँग असम्बन्धित व्यक्ति र पदाधिकारीको पनि नाम जोडेर अतिरञ्जित र भ्रामक रूपमा प्रकाशित सामग्रीबारे ब्युरोले ध्यानाकर्षण भएको जनाएको छ  ।

ब्युरोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘हाल केही दिनदेखि विभिन्न संचारमाध्यम, सामाजिक सञ्जालहरुमा प्रस्तुत कसूरको तथ्यगत विषयहरुलाई अन्यत्रै मोडी कसूरसँग असम्बन्धित व्यक्ति तथा पदाधिकारीहरूको नामसमेत जोडी अतिरञ्जित र भ्रामक रुपमा केही समाचार तथा विज्ञप्तिहरूमा प्रकाशित सामग्रीप्रति यस व्यूरोको गम्भीर ध्यानाकर्षण भएको छ।’

बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा संगठित रूपमा सरकारी छाप तथा दस्तखत कीर्ते गरी व्यक्तिको नाममा हक हस्तान्तरण गर्ने काममा संलग्न व्यक्तिहरू उपर अहिले अनुसन्धान भइरहेको ब्युरोले जनाएको  ।

विज्ञप्तिमा भनिएको छ– ‘हाल ब्युरोबाट जारी अनुसन्धान ललिता निवासको १४३ रोपनी सरकारी जग्गा संगठित रूपमा सरकारी छाप तथा दस्तखत किर्ते गरी व्यक्तिको नाममा हक हस्तान्तरण गर्ने कसूरमा मात्र केन्द्रित रहेको अवगत गराउन चाहन्छौं ।’

यस प्रकरणमा ब्यूरोले काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान भइरहेको अवगत गराएको छ।