FLASH NEWS

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका ५ जना एकै परिवारका


नेपाल आवाज २६ असार २०८०, मंगलवार २०:१९ मा प्रकाशित १८३७ पाठक संख्या

काठमाडौं – सोलुखुम्बुको लिखुपिके गाउँपालिका- ५ भक्कानेस्थित लाम्जुरापास चिहानडाँडामा मंगलबार बिहान हेलिकोप्टर दुर्घटना हुँदा मृत्यु भएका पाँचजना विदेशी नागरिक एकै परिवारको भएको खुलेको छ ।


मनाङ एयरको ‘९–एन–एमभी’ हेलिकोप्टर दुर्घटना हुँदा चालकसहित ६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये पाँचजना मेक्सिकोका नागरिक हुन् ।

उनीहरु सबै एकै परिवारका भएको हेलिकप्टर सेवा प्रदायक संस्था एभरेष्ट एक्सपेरिअन्स एन्ड एसिस्टेन्सका सञ्चालक मुक्ति पाण्डेको भनाई छ ।

मृत्यु हुने मेक्सिकन नागरिकहरु एभरेष्ट एक्सपेरिअन्स एन्ड एसिस्टेन्समार्फत खुम्बु क्षेत्रको अवलोकन गर्न गएका थिए । उनीहरु चढेको हेलिकोप्टर फर्कने क्रममा दुर्घटनामा परेको थियो ।

मृत्यु हुने एकै परिवारका मेक्सिकोका नागरिकमा बाबु, आमा, दुई छोरी र एक छोरा रहेको छ । मृत्यु हुनेमा सिफुइन्तेस जी. फर्नान्डो, गोन्जालेज अब्रिक, गोन्जालेज ओलासिओ लुज, सिफुइन्तेस जी। मारिया जोस र रिनकोन इस्माअल रहेका छन् ।

उनीहरु खुम्बु क्षेत्र अवलोकन गर्न आइतबार मात्रै भारतको इन्दिरागान्धी विमानस्थल ट्रान्जिट भएर एयर इन्डियामार्फत काठमाडौं आएका थिए। उनीहरु नेपाल घुम्न १५ दिनको भिजिट भिसामा आएका थिए।