FLASH NEWS

सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति : माओवादी केन्द्र


नेपाल आवाज २७ असार २०८०, बुधबार १०:४४ मा प्रकाशित १३२१ पाठक संख्या

काठमाडौं – माओवादी केन्द्रले प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसंगिनी तथा पार्टी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनले पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको जनाएको छ ।


दाहालको बुधबार बिहान ८ः३३ बजे नर्भिक अस्पताल, काठमाडौँमा  निधन भएको हो । माओवादी केन्द्रका महासचिव देव गुरुङले शोक वक्तव्य जारी गर्दै दाहालको निधनले सिङ्गो पार्टी स्तब्ध भएको जनाएका छन् ।

विक्रमसम्बत २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीता दाहालको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो । विक्रमसम्बत २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध सीता जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार रहेकी थिइन्।

पार्टी कामका लागि पञ्चायत कालमा लामो समय भूमिगत जीवन बिताएकी दाहाल जनयुद्ध सुरुवात भएपछि (२०५२ सालदेखि) भूमिगत राजनीतिमा सक्रिय रहँदै आएकी थिइन् ।  जनयुद्धका आँधीमय वर्षहरूमा सिङ्गो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका दाहालले निर्वाह गरेकी थिइन् ।

पछिल्लो समय उनी पार्किन्सनजस्तो दुर्लभ रोग लगायतका रोगहरूबाट ग्रसित थिइन् ।

हाल भरतपुर महानगरपालिका वडा नं १४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयाघातका कारण निधन भइसकेको छ ।

छोरीहरू रेनु दाहाल र गंगा दाहाल सम्पूर्ण रूपले देश र जनताको मुक्ति र परिवर्तनका निम्ति समर्पित रहँदै आएको माओवादी केन्द्रले जनाएको छ ।

सल्लाहकार दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बुधबार बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा राखिनेछ भने दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।

‘सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको छ । उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुर्याउनुभएको छ । सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असीमित समर्पण उहाँका विशेषता हुन् । उहाँ आफ्ना योगदानमार्फत् चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनु हुनेछ’, माओवादी केन्द्रका महासचिव गुरुङले जारी गरेको शोक वक्तव्यमा भनिएको छ ।

माओवादी केन्द्रले सीता दाहालले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति खेलेको योगदानको उच्च सम्मान गर्दै सिङ्गो पार्टी उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्ड लगायत सिङ्गो परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै धैर्यधारणका लागि आम जनसमुदायमा हार्दिक अपिल समेत गरेको छ ।