FLASH NEWS

प्रहरी परिसरभित्रै प्रहरीलाई नै हातखुट्टा बाँधेर यातना, छानबिन समिति गठन


नेपाल आवाज २७ असार २०८०, बुधबार १८:२४ मा प्रकाशित १३८७ पाठक संख्या

सिरहा- जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी जवानलाई कार्यालय परिसरभित्रै हात खुट्टा बाधेर यातना दिइरहेको भिडियो बाहिरिएको छ। महोत्तरीको जलेश्वर नगरपालिका- ८ फूलहट्टा घरभई जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई हात पछाडि पारी बाँधेर यातना दिएको भिडियो सार्वजनिक भएको हो।


रायलाई आफ्नै कार्यालयका इन्स्पेक्टर हेमन्त राईले हातखुट्टा बाँधेर यातना दिएको आरोप लगाएको छ। सामाजिक सञ्जालमा भाइरल भिडियोमा प्रहरी जवान राय भक्कानिएर रुँदै बाँधिएको हात खोलिदिन अनुरोध गरेको छ। उनीसँग दोहोरो सम्वादमा रहेको व्यक्तिले कहाँ रक्सी खाईस भन्ने प्रश्न मा उनेले, ‘मैले रक्सी खाएको छैन, मेरो हात खोलिदिनुस्। मैले रक्सी खाएको प्रमाणित भए म जागिर छोड्छु’ भन्ने सम्वाद सुनिन्छ।

भिडियो सम्वादमा रहेको भनिएको इन्स्पेक्टर राईले पनि रक्सी खाए नखाएको जाँचपछि निस्की हाल्छ भन्दै मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिंदै गरेको सुनिन्छ। प्रहरी जवान रायले भिडियोमा रुँदै ‘मलाई यसरी याताना नदिनुस् बरु मारिदिनुस्’ भनेका छन् । सार्वजनिक भिडियोले प्रहरीभित्र अझै पनि तल्लो दर्जाको कर्मचारीमाथि गरिने व्यवहार उदाङ्गिएको छ। ‘मुस्कानसहितको सेवा’ दिने प्रहरी आफैँले आफ्ना कर्मचारीमाथि गरेको गैरन्यायिक व्यवहारले प्रहरीमाथि थप प्रश्न उठेको छ ।

निरन्तर अधिक ड्युटी गराएको गुनासो गर्न आफ्ना कमाण्डर इन्सपेक्टर राईकामा पुगेका बखत प्रहरी जवान रायलाई इन्स्पेक्टर राईले गाली गलौज गरेको बताइएको छ। इन्स्पेक्टर राईले गालीगलौज गरेपछि आक्रोसित प्रहरी जवान रायले पनि जवाफ फर्काएकाएपछि हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएको भनिएकाे छ। रायका आफन्तले न्यायको लागि अदालत जाने बताएका छन् ।

सिरहाका सूचना अधिकारी डिएसपी रवीन्द्र राज पाण्डेले त्यस्तो केही नभएको भन्दै यातना दिने व्यक्तिको बचाउ गरे। उनले प्रहरी जवान राय बदमास रहेको भन्दै घटना भएको स्वीकार गरेपनि बाहिर भएको हल्ला जस्तो नभएको बताए।

डिएसपी पाण्डलेले रायले मादक पदार्थ सेवन गरेको भनिए पनि मेडिकल रिपोर्टमा नदेखिएको बताए।

यता  प्रहरी जवानलाई यातना दिएको विषयमा मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन सुरु गरेको छ । डीएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली गठन गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार घटना बाहिरिएलगत्तै बुधबार कार्यालयले टोली गठन गरी छानबिन थालेको हो । जति सक्दो चाँडो छानबिन गरी प्रतिवेदन बुझाउन टोलिलाई निर्देशन दिइएको छ ।