काठमाडौं – चिनियाँ कम्युनिस्ट पार्टीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनप्रति गहिरो दु:ख व्यक्त गरेको छ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओले जारी गरेको शोक सन्देशमा दाहालको निधनप्रति दु:ख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरिएको छ।
“सीता दाहाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को एक महत्वपूर्ण नेताका रूपमा काम गरेको र हाम्रो विभागको निमन्त्रणामा भएको चीन भ्रमणमा उनको पनि सहभागिता थियो”, शोक सन्देशमा भनिएको छ, “उनको निधनप्रति हामी गहिरो दु:ख व्यक्त गर्दछौँ ।”
पार्टीले यस कठिन घडीमा नेपालको राष्ट्रिय विकासको नेतृत्व गर्न प्रधानमन्त्री दाहालको दृढशक्तिको कामनासमेत गरेको छ । प्रधानमन्त्री दाहाल पत्नीको बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।