FLASH NEWS

पक्राउ परेका एलओडीका सञ्चालक हाजिरी जमानीमा छुटे


नेपाल आवाज २९ असार २०८०, शुक्रबार १५:४१ मा प्रकाशित १३४५ पाठक संख्या

काठमाडौं – नाबालिगलाई क्लबमा छिराएको आरोपमा पक्राउ परेका चर्चित लर्ड अफ ड्रिम्स(एलओडी)का सञ्चालकलाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ।


एलओडीमा छिरेकी १५ वर्षीया किशोरी त्यहाँबाट निस्किएपछि सानेपामा बलात्कृत भएको पाइएपछि प्रहरीले एलओडीका दुई जना सञ्चालकलाई पक्राउ गरेको थियो।

काठमाडौं प्रहरी प्रवक्ता सिताराम रिजालले सरकारी वकिलको अनुमती लिएर हाजिरी जमानीमा छाडेको बताए। ‘हिरासतबाहिर राखेर पनि अनुसन्धान गर्न सकिने व्यवस्थाअनुरुप उनिहरुलाई हाजिरी जमानीमा छाडिएको हो’ एसपी रिजालले भने। प्रहरीले रुदिल बल्लब श्रेष्ठ र राजुसिंह सुवाललाई पक्राउ गरेको थियो।

यता बलात्कार गरेको आरोप लागेका व्यक्ति कास्कीका ४९ वर्षीय सुदनबहादुर कोइरालालाई ललितपुर जिल्ला अदालतले कारागार चलान गर्ने आदेश दिएको छ ।

कोइरालाले १५ वर्षीया किशोरीलाई जेठ ३१ गते सानेपास्थित आफ्नो अफिस कोठामा बलात्कार गरेको आरोपपछि प्रहरीले तत्कालै उनलाई नियन्त्रणमा लिएको थियो ।

कोइराला र ती किशोरीबीच राति एलओडी क्लबमा भेट भएको थियो । त्यसअघि उनीहरुबीच भेटघाट भएको थिएन । प्रहरी अनुसन्धानमा कोइरालाले पडित किशोरीले भने बमोजिम एलओडीमा मदिरा किनिदिएको र ७ हजार रुपैयाँमा रात बस्ने सहमतिअनुसार आफ्नो अफिस कोठामा पुर्याएको बताएका थिए ।

यद्यपी कोइरालाले शारिरिक सम्पर्क गरेको भने अस्वकिार गरेका थिए । पीडित किशोरी बुढानिलकण्ठस्थित दिदीको घरमा उदयपुरबाट भेटघाटका लागि आएकी थिइन् ।

सामाजिक सन्जालमार्फत चिनजान भएकी साथीमार्फत त्यस दिन उनी एलओडीमा रमाइलो गर्न पुगेको उनले प्रहरीमा बताएकी थिइन् ।

क्लबमा पीडित किशोरीलाई छाडेर ती साथी हराएकी थिइन् । पीडित किशोरीका अनुसार ती साथीसँग भेटाई दिने भन्दै कोइरालाले गाडीमा हालेर उनलाई लगेका थिए ।