FLASH NEWS

परराष्ट्रमन्त्री साउद र डोनाल्ड लुबीच एमसीसी कार्यान्वयनबारे छलफल


नेपाल आवाज २९ असार २०८०, शुक्रबार १८:१० मा प्रकाशित १०२७ पाठक संख्या

काठमाडौं – अमेरिकाका लागि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी अनुदान सहायता परियोजना एमसीसी कार्यान्वयनबारे चर्चा गरेका छन् ।  परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार अपरान्ह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनले एमसीसी कार्यान्वयनबारे चर्चा गरेका हुन् ।


भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरुको सूचीबाट स्तरोन्नति र सो पश्चात् पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता, बढोत्तरी र दुबै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको छ।

परराष्ट्रमन्त्री साउदले सहायक मन्त्री लुलाई अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड–१९ को संकटको समयमा प्राप्त भएको विशेष सहयोगका लागि कृतज्ञता व्यक्त गरेका छन् । सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए ।

भेटका क्रममा उनले अमेरिकामा ठूलो संख्यामा रहेको नेपाली समुदायले अमेरिकी अर्थतन्त्रमा पुर्याएको योगदान र हासिल गरेको प्रगतिको प्रशंसा समेत गरे ।  दुई देशको बीचको लामो मित्रवत् सम्बन्धको परिप्रेक्ष्यमा उच्चस्तरीय भ्रमणको आदान–प्रदानको महत्वबारे समेत भटवार्ताका क्रममा चर्चा भएको थियो।