FLASH NEWS

झुलाघाट नाका अब बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ने


नेपाल आवाज ३० असार २०८०, शनिबार १८:३५ मा प्रकाशित ९९१ पाठक संख्या

दार्चुला – भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ । नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले बैतडीसँग जोडिएको झुलाघाट नाका खोल्नेबारे सहमति भएको हो ।


यसअघि झुलाघाट नाका बिहान ७ बजे मात्रै खुल्ने गरेको थियो । बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले नेपाल–भारत सीमामा रहेको झुलाघाट पुल एक घन्टाअघि खोल्ने सहमति भएको जानकारी दिए । उनले भने, ’झुलाघाट पुल अब बिहान ६ बजे खुल्ने र बेलुका ७ बजे बन्द हुनेछ । यसले दुवै देशका नागरिकलाई सहज हुनेछ ।’

यसअघि बिहान ७ बजे नाका खुल्दा दुवै देशका नागरिकलाई समस्या हुने गरेको थियो । भारतमा उपचार र किनमेलका लागि जाने नेपाली नागरिकलाई बढी समस्या हुने गरेको थियो ।

यसैगरी झुलाघाटमा बन्ने मोटरेबल पुलको डीपीआर बनिसकेको र भारतको केन्द्र सरकारलाई पठाइसकेको बैठकमा भारतीय पक्षले जानकारी दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झुलाघाट नाकामा मोटरेबल पुल निर्माणको घोषणा गरेका थिए ।