FLASH NEWS

‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ बारे सांसद ज्ञानबहादुरले उठाए प्रश्न


नेपाल आवाज ३१ असार २०८०, आईतवार १६:३४ मा प्रकाशित १०२७ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ अघि बढाए नेपाल अफ्रिकाभन्दा पनि पछाडि धकेल्ने दावी गरेका छन् ।


सो विधेयक संसदमा अघि बढाउने विषयमाथि विरोधको सूचना दर्ता गराएका सांसद शाहीले सो विधेयक अघि बढेर कानुन निर्माण भएमा राजनीतिक आवरणमा सडकमा हत्याको श्रृङ्खला बढ्ने बताएका हुन् ।

उनले भने– ‘सडकको किनारमा मान्छेको हत्या हुन्छ, मान्छेलाई मारिन्छ, त्यसपछि त्यहाँ राजनीतिक पर्चा छोडिन्छ र त्यहाँ के लेखिन्छ भने क्रान्तिका लागि, हलानाका लागि, फलनाका लागि भनेर लेखिन्छ । अनि त्यो पर्चाका आधारमा सरकारले ओहो यिनीहरु त राजनीतिक दलहरु हुन भनेर उन्मुक्ति दिन्छ । यदि भोली यो परम्परा यो देशमा बस्यो भने यही संसदमा हामी माननीयको जीवन रहन्छ कि रहँदैन ?’

उनले अहिले अफगानिस्तानका बीच बजारमा बम पड्किएको जस्तै नेपालमा भोलि बम पड्किन सुरु हुने बताए । राज्यले कमजोर कानुन बनाउने, राजनीतिक भनेर अदालतले फैसला गरेको दोषी पनि छोड्ने र राजनीतिक आस्थाका आधारमा मान्छे मार्न थाल्ने हो भने यो देशमा भोलि कोही जिवित रहन्छ भन्दै प्रश्न गरे ।

‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ मा फौजदारी सम्बन्धी कसुरमा राजनीतिक प्रकृतिको भए सरकारले मुद्दा फिर्ता लिनेसम्बन्धी कानुनी व्यवस्था प्रस्ताव गरिएको छ ।