FLASH NEWS

नक्कली भुटानी शरणार्थी प्रकरण : केशव तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश


नेपाल आवाज ३१ असार २०८०, आईतवार १९:२३ मा प्रकाशित ११०५ पाठक संख्या

काठमाडौं – भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशव तुलाधरलाई अदालतले धरौटीमा छाड्न आदेश गरेको छ ।


जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव प्रसाद घिमिरेले आइतबार तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश गरेका हुन् ।

भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा काठमाडौं–३० असनका ५९ वर्षका तुलाधरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधवार सानो भर्‍याङबाट पक्राउ परेका थिए ।

फरार सूचीमा रहेका तुलाधरलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालतका एक अधिकारीले बताए । तुलाधरले अदालतले तोकेको धरौटी बुझाएका छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी तथा संगठित अपराधको मुद्दा दर्ता गरेको थियो ।

जसमध्ये कांग्रेस नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझीलगायत १६ जना हाल पुर्पक्षका लागि थुनामा पठाइएका छन् भने दुई जना भने धरौटी बुझाएर रिहा भएका छन् । तुलाधरसहित केही व्यक्ति भने फरार रहेका थिए । उनी पक्राउ परेपछि आइतबार जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो ।

प्रहरीका अनुसार तुलाधरले विभिन्न प्रलोभनमा पारी जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिलाई ठगी गरेका थिए ।