FLASH NEWS

लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री यादव बैंकिङ कसुरमा पक्राउ


नेपाल आवाज १ श्रावण २०८०, सोमबार १३:४९ मा प्रकाशित ११६५ पाठक संख्या

काठमाडौं – लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री विजयबहादुर यादव बैंकिङ कसुरको अभियोगमा पक्राउ परेका छन्।


नेकपा एमालेका नेतासमेत रहेका यादवलाई बैंकिङ कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले आइतबार साँझ पक्रा गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीले यादवलाई पक्राउ गरेर रुपन्देही प्रहरीको जिम्मा लगाइएको जानकारी दिए।

पूर्व मन्त्री यादवलाई बाँकेको डुडुवा गाउँपालिका–१ होलियाबाट पक्राउ गरिएको थियो।

प्रहरी नायव उपरीक्षक डाँगीका अनुसार बैङ कसुर मुद्दामा जिल्ला अदालत रुपन्देहीबाट जारी भएको पक्राउ पुर्जी प्राप्त भएपछि उनलाई पक्राउ गरेर पठाइएको हो।

यादवले रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवको नाममा १० माघ २०७० मा काटेको चेक अनादर भएको थियो।

यादवले १२ लाख २८ हजार रुपैयाँ चेक काटेर दिए पनि पटक पटक बैंक जाँदा पर्याप्त मौज्दात नभएको देखिएपछि चेक अनादर (बाउन्स) भएको थियो।

भुक्तानीका लागि चेक लिएका यादवले प्रहरीमा पूर्वमन्त्री यादवविरुद्ध चेक अनादरको उजुरी दर्ता गरेका थिए।

विजयबहादुर २०७४ को निर्वाचनमा बाँकेको प्रदेशसभा निर्वाचन क्षेत्र २ ‘१’बाट जसपाबाट निर्वाचित भएका थिए । तर पछि उनी लुम्बिनी प्रदेश सरकारमा पार्टीको निर्देशनविपरीत सहभागी भएको भन्दै कारपाहीमा परेका थिए । जसपाले कारबाही गरेपछि भने उनी गत चुनावअघि एमालेमा प्रवेश गरेका थिए ।

गत मंसिरमा भएको निर्वाचनमा एमालेबाट प्रदेश सभामा प्रतिस्पर्धा गरे पनि उनी जसपाका भण्डारीलाल यादवसँग पराजित भएका थिए ।