FLASH NEWS

भावुक हुँदै प्रचण्डले भने– सीताले मृत्यु पनि निकै शान्त रोजिन्


नेपाल आवाज २ श्रावण २०८०, मंगलवार १२:३९ मा प्रकाशित १५५५ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहालले मृत्यु पनि निकै शान्त रोजेको बताएका छन् । मंगलबार बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले सीता विरामी भएपछि राज्यबाट कुनै सुविधा नलिईकनै उनलाई उपचारका लागि आफूहरू हरतरहबाट लागिपरेको बताए ।


साथै उनले अन्तिम अवस्थामा अस्पतालको आइसीयु वा भेन्टिलेटरमा उनको पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता लागे पनि बाच्दासम्म सीताले अरूलाई पीडा नदिएको बताए । ‘सीताले मृत्यु पनि निकै शान्त रोजिन् । साढे सात बजे अस्पताल लगेकोमा लगभग ८ : ३० मा उनी बिदा भइन् ।’

प्रचण्डले पत्नी सीता दाहालको वियोगको शोकको बेला सबैबाट पाएको साथले पीडाबाट निस्किन र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरेको बताए। उनले भने, ‘शोकको यो घडीमा यहाँहरुको साथ, समवेदना र सदभावले हामीलाई पीडाबाट निस्कनमात्र मद्दत गरेको छैन, बरु देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको महसुस गरेका छौं, मैले र हाम्रो परिवारले ।’

सीताप्रति श्रद्धाञ्जली दिने सबैलाई धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले अस्पतालदेखि पार्टी कार्यालयसम्म र आर्यघाटदेखि बालुवाटारसम्म उनले पाएको सम्मान र श्रद्धाञ्जली उनको त्याग तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान भएको बताए ।

‘उनको मृत्युमा प्रकट भएको जनअभिव्यक्ति र जनाउभरले मलाई र मेरो परिवारलाई देश र जनताप्रति अझ ठुलो जिम्मेवारी बोध गराएको छ’, प्रचण्डले शोकको घडीमा समाजका सबै क्षेत्र, तह, तप्का र मित्रराष्ट्रसहित सबैजसो सरकार प्रमुखबाट प्राप्त सहानुभूतिप्रति आभार प्रकट गरे । साथै उनले सबैतिरबाट पाएको साथले आफूलाई देश र जनताप्रति थप जिम्मेवार हुन प्रेरित गरेको महसुस भएको बताए ।

श्रद्धाञ्जली सभामा उपराष्ट्रपति, पूर्व उपराष्ट्रपति ,सभामुख, राष्ट्रिय सभा अध्यक्ष,पूर्व प्रधानमन्त्रीहरू, मन्त्रीहरू, कूटनीतिज्ञहरूका साथै समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी भएका थिए ।

पार्किन्सन्सजस्तो देखिने एकप्रकारको जटिल रोगबाट लामो समय थलिएकी सीता दाहालको ६९ वर्षको उमेरमा गत असार २७ गते काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो ।