FLASH NEWS

सिस्डोल र बञ्चरेडाँडाबासीको आन्दोलनले आज पनि काठमाडौंको फोहोर व्यवस्थापनमा अवरोध


नेपाल आवाज २ श्रावण २०८०, मंगलवार १२:५९ मा प्रकाशित १२४९ पाठक संख्या

काठमाडौं – आज पनि सिस्डोल र बन्चरेडाँडाका बासिन्दाले काठमाडौं उपत्यकाको फोहोर फ्याँक्न अवरोध गरेका छन् ।


सरकार र काठमाडौं महानगरसँग भएका सहमति एक वर्ष हुँदा पनि कार्यान्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेँसी नगरपालिकाका स्थानीय बासिन्दाले सोमबार देखि फोहोर व्यवस्थापनमा रोक लगाएका हुन् ।

वातावरणीय प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको र सिसडोलको व्यवस्थापनका लागि काम भइरहेको काठमाडौं महानगरपालिकाका वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले जानकारी दिए ।

जग्गा अधिग्रहणको माग तत्काल पुरा गर्न नसक्ने बताउदै उनले भने, ‘बाटामा ५०–६० जना स्थानीय आज पनि सडकमा छन् । जग्गा अधिग्रहणको माग राखेर सडक अवरूद्ध गरिरहेका छन्। यसअघि भएका सम्झौताको १८ बुँदामध्ये अधिकांश पूरा भइसकेका छन्। अहिलेको मागचाहिँ हामी पूरा गर्न सक्दैनौं।’

स्थानीयले भने अहिलेसम्म फोहोर व्यवस्थापनको कुनै पनि काम नभएको बताएका छन्। उनीहरुले सहमतिका नाममा आफूहरुलाई सरकारले पटकपटक झुक्याइएको आरोप लगाएका छन् । धुनिबेँसीका मेयर बालकृष्ण आचार्य आफूहरूको मागको सुनुवाइ नभएकाले फोहोर अवरोध गरिएको बताए ।

ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंले अहिलेको माग फोहोर र मानिस सँगै नराखौं भन्ने मात्रै रहेको बताए। संघ सरकार र उपत्यकाका स्थानीय तहले २०६२ जेठदेखि २०७९ जेठसम्म फोहोर थुपारेर पर्वत बनाएको सिसडोलको व्यवस्थापनमा केही नगरेपछि गाउँपालिकाले आफैंले पहल गर्न खोजेको उनले बताए।

‘हामीले साना गाडीबाट एक हजार र ठूलाबाट एक हजार पाँच सय प्रतिटिप उठाउने गरी निर्णय गरेका थियौं, त्यो पनि मुद्दा परेर रोकियो। हामीचाहिँ फोहोरमै बस्नु! हामीसँग के विकल्प छ?,’ उनले भने।

काठमाडौँ महानगरपालिकाले यसअघि कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्नेलगायतका सहमति गरेको थियो । तर अहिले महानगरले विना वर्गीकरण फोहोर संकलन गर्दै आएको छ ।

काठमाडौं उपत्यकाभित्र दैनिक १ हजार १ सय हाराहारी मेट्रिक टन फोहोर उत्सर्जन हुनेगर्छ। ती सबै फोहोर धादिङ, धुनीबेसी–१ मा पर्ने बञ्चरेडाँडामा बिसर्जन हुँदै आइरहेको छ। त्यहाँ सहरी विकास मन्त्रालयले दुई अर्ब बढी लागतमा दीर्घकालीन ल्यान्डफिल साइट बनाएको छ।