FLASH NEWS

तस्करीको सुन लुकाउने भन्सारका कर्मचारीसहित ५ जना कारागार चलान


नेपाल आवाज २ श्रावण २०८०, मंगलवार १४:१० मा प्रकाशित १०८७ पाठक संख्या

काठमाडौं – चिनियाँ नागरिकले दुवईबाट ल्याएको तस्करीको सुन लुकाउने भन्सारका ३ जना कर्मचारीसहित ५ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।


जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालको इजलासले भन्सारका नायव सुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत, सुरक्षागार्ड निर्मलकुमार बिक र व्यापारीहरु वेदप्रकाश अग्रवाल र साहेव राय पाण्डुरङ पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु आगमन शाखाले २०७९ पुस २९ गते २ वटा सुटकेशभित्र ७३ वटा बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेटभित्र शंकास्पद बस्तु रहेको आशंकामा बरामद गरेको थियो। तर पछि ती सामान इलेक्ट्रिक सिगरेट नै भएको पाइएपछि विमानस्थलले साटिएको आशंकामा छानबिन गरेको थियो।

आन्तरिक छानबिन गर्दा मुद्दा शाखामा गोदामको कार्य जिम्मेवारी तोकिएका नासु रेवन्त खड्कासहितका व्यक्ति संलग्न देखिएपछि कारबाहीको प्रक्रिया अगाडि बढेको थियो। विमानस्थल भन्सार कार्यालयले आन्तरिक छानबिनमा त्रुटि पाइएपछि थप अनुसन्धान गरी कारबाहीका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा २०८० वैशाख २६ गते जाहेरी दिएको थियो।

दुई वटा सुटकेसमा सिगरेटभित्र लुकाएर सुन ल्याएको खुलेको छ। तर भन्सारका कर्मचारीसहितको मिलेमतोमा पछि सिगरेट ल्याएर सुन लगेको खुलेको हो। उनीहरुले लगेको सुन ६ करोडमा बिक्री गरेर रकम बाँडेर लगेको खुलेको छ।