FLASH NEWS

कांग्रेसले ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने


नेपाल आवाज २ श्रावण २०८०, मंगलवार १५:५२ मा प्रकाशित ९५५ पाठक संख्या

काठमाडौं – नेपाली कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ ।


महामन्त्री गगन थापाले आगामी एक वर्ष क्रियाशील सदस्यता विस्तार अभियान चलाउने र ५ देखि ७ लाख नयाँ सदस्य बनाउने कार्य योजना अघि सारेका हुन् ।

मंगलबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा महामन्त्री थापाले आगामी साउन २० देखि २०८१ असार ३१ गतेसम्म ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने योजना प्रस्तुत गरेका हुन् ।

थापा भन्छन्, ‘क्रियाशील सदस्यताको वितरण वर्षभरि नै गर्ने गरी यसका लागि जिल्ला कार्यसमितिलाई फारम पठाइसकिएको छ । अब इच्छुक साथीहरूले प्रक्रिया पुरा गरेर पार्टीको क्रियाशील सदस्यता लिन सक्नुहुने छ । कांग्रेसको क्रियाशील सदस्यता वितरण अनलाइनमार्फत गर्ने कुरालाई हामीले सुरु गर्‍यौँ । यसलाई प्रभावकारी बनाउने, संगठन विस्तार र सुदृढीकरणका लागि नयाँ व्यक्तिलाई पार्टीमा आकर्षण र गर्न र समाजको विविधता झल्कने गरी यो वर्षको साउन २० गतेदेखि २०८१ असार ३१ गतेसम्म घरघर जाऊँ पार्टी सदस्य बनाऊँ भन्ने अभियान चलाउन अन्तर्गत राष्ट्रिय अभियान सुरु हुने छ, ‘५ लाखदेखि ७ लाख सदस्यता बनाउने उद्देश्यले यो अभियान प्रारम्भ गरिने छ ।’

करिब एक साता चल्ने केन्द्रीय समिति बैठक अहिले जारी छ । आजको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने छन् ।