FLASH NEWS

राष्ट्रिय सुरक्षाको महत्त्वपूर्ण अङ्ग नेपाली सेनालाई चलाउन हुँदैन: राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन


नेपाल आवाज ३ श्रावण २०८०, बुधबार १७:४३ मा प्रकाशित १३२७ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै पनि बहानामा राष्ट्रिय सुरक्षाको महत्त्वपूर्ण अङ्गका रुपमा रहेको नेपाली सेनालाई चलाउन नहुने बताएका छन्।


संघीय संसद्कै सदस्यहरुले देशको आर्थिक भार घटाउन सेनाको संख्या कटौतीको कुरा उठाइरहेपछि अध्यक्ष लिङ्देनले बुधबार एक विज्ञप्ति जारी गरी त्यसलाई निरर्थक बहस भनेका छन्।

‘योजनाबद्ध रुपमा स्वघोषित बुद्धिजीवी तथा केही दलका जिम्मेवार नेताहरूबाट नै सेनाको संख्या घटाउनु पर्ने र सेनाविहीन राज्यको परिकल्पना जस्ता विषयहरू श्रृंखलावद्ध बहस चलाउनु रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण रहेको छ’, उनले भनेका छन्।
लिङ्देनले राज्यको आर्थिक भार कम गर्ने अन्य उपायबारे राप्रपा बहसका लागि तयार रहेको बताएका छन्।

‘राज्यको आर्थिक भार घटाउने प्रशस्तै उपाय छन्। यसबारे राप्रपा बहस गर्न तयार छ। नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा इतिहासको कठिनतम् कालखण्डमा प्रतिबद्ध सेनालाई कमजोर बनाउने गरी बहस केन्द्रीत गरिनु हुँदैन’, उनले अगाडि भनेका छन्, ‘नेपालको एकीकरणदेखि विश्वमा शान्ति कायम गर्न अलग पहिचान बनाएको, विकास निर्माण, सिमाना रक्षा, सामरिक महत्व, वन्यजन्तु संरक्षण, हिमाली पर्वतमाला स्वच्छ राख्ने चूनौतीपूर्ण कार्यदेखि आन्तरिक सुरक्षा र विपद्को समयमा समेत प्रभावकारी ढंगबाट भूमिका निर्वाह गरिरहेको सेनालाई अस्थिर राजनीतिबाट सिर्जित घरेलु परिवेश र सामाजिक अराजकताका कारण राज्य कमजोर हुँदै गइरहेको वर्तमान अवस्थामा सेनाको भूमिका उपर बेमौसमी बहस गरिनु दुःखद र आपत्तिजनक छ।’

उनले सेनालाई आफ्नो दायित्वबाट बिखुम गराउने गरी गरिने बहस स्वीकार्न नसकिने पनि बताएका छन्।

‘कुनै पनि देशको सैनिक संगठन भूराजनीति र सामरिक आवश्यकतालाई दृष्टिगत गरी गठन हुने भएकाले नेपाली सेनालाई आफ्नो दायित्वबाट विमुख गराइने कुनै पनि प्रयासलाई राप्रपाले किमार्थ स्वीकार गर्दैन’, उनले भनेका छन्, ‘तसर्थ, सेनाको संख्या कटौतीको बेमौसमी बहसलाई अन्त्य गरी बलियो, अनुशासित र गौरवशाली संस्थाको रुपमा अक्षुण्ण राख्न सबैको साझा प्रतिवद्धताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी आग्रह गर्छ।’