FLASH NEWS

सुनको भाउ हालसम्मकै उच्च,चाँदीको मूल्यले पनि बनायो नयाँ रेकर्ड


नेपाल आवाज ४ श्रावण २०८०, बिहीबार ११:४२ मा प्रकाशित १५५५ पाठक संख्या

काठमाडौं – सुनको मूल्यले डेढ महिनाअघिको उच्च रेकर्ड तोडेको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यसअघि गत जेठ १८ गते प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँको उच्च मूल्य रेकर्ड रहेको थियो । अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि असर परेको महासंघले जनाएको छ । यद्यपि अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा सुनको मूल्य वृद्धिदर उच्च देखिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले बजेटमार्फत सुनको भन्सार दर बढाएकाले नेपाली बजारमा सुनको मूल्य उच्च दरले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले साढे २ महिनाअघिको रेकर्ड तोड्न सकेको छैन भने नेपालमा यसअघिका सबै मूल्य रेकर्ड तोडिएको छ । साढे २ महिनाअघि अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २०५० डलर हाराहारी रहेको सुनको मूल्य २० दिनअघि १९ सय डलर हाराहारीमा झरेको थियो । हाल भने प्रतिऔंस १९८५ डलर हाराहारीमा छ ।

चाँदीको मूल्यले भने नेपाली बजारमा तीन दिनयता दैनिक उच्च रेकर्ड बनाइरहेको छ । मंगलबार प्रतितोला १४८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १४९० रुपैयाँ पुग्यो भने बिहीबार १४९५ कायम भएकाे महासंघले जनाएको छ ।