FLASH NEWS

सुन तस्करीमाथिको छानबिनलाई जरैसम्म पुर्‍याउने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता


नेपाल आवाज ५ श्रावण २०८०, शुक्रबार १२:५५ मा प्रकाशित ११४१ पाठक संख्या

काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीमाथिको छानबिनलाई जरैसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले घटनामा जोसुकै जोडिएको भए पनि कारबाहीबाट पछि नहट्ने बताए ।


आज विमानस्थलको स्थलगत अनुगमनपछि मन्त्री श्रेष्ठले पत्रकारहरूलाई उक्त प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘यसको नेक्सस र रुटमा पुग्ने गरी कारबाहीको प्रक्रियामा जानुपर्छ भन्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि जोड रहेको छ । मैले सम्बन्धित अधिकारीलाई पनि कडा निर्देशन दिएको छु ।’

राजश्व अनुसन्धान विभागले घटनाको छानबिन गर्न समिति बनाएको भन्दै मन्त्री श्रेष्ठले अहिले सबै निकायले यही समितिलाई सघाउने उल्लेख गरे । आवश्यकता परेमा सीआईबी, अपराध अनुसन्धान शाखाजस्ता निकायले पनि अनुसन्धान गर्नसक्ने उनको भनाइ छ ।

विमानस्थलको भन्सारमा प्रहरीलाई पनि सामेल गर्ने विषयमा सरकारले सोचिरहेको मन्त्री श्रेष्ठले बताए । ‘हामीले भन्सारका अधिकारीलाई तपाईंहरूलाई प्रहरी चाहिँदैन ? भनेर सोध्यौं । उहाँहरूले प्रहरी भए राम्रै हुन्छ भन्नुभएको छ । हामीले नै मन्त्रिपरिषदको बैठकमा प्रहरीलाई पनि सामेल गर्नुपर्छ भनेर छलफल गरेका छौं । यसबारे चाडै आवश्यक निर्णय लिइन्छ ।’

एक पत्रकारले मन्त्री श्रेष्ठलाई सुन तस्करीमा तपाईंको पनि नाम मुछिएको छ नि ? भनेर सोधेका थिए । मन्त्री श्रेष्ठले यस्तो प्रश्न नगर्न आग्रह गरे । ‘उत्तर खोज्नुपर्ने स्तरको प्रश्नै होइन यो । यो देशको भ्रष्टाचारविरोधी सुशासनको अभियानलाई कुनै पनि प्रकारबाट असफल पार्ने वा दिग्भ्रमित पार्ने प्रयासबाट विचलित गर्न सक्छु भनेर कसैले नसोचे हुन्छ,’ उनले भने

कतै तीन ब– (बालकोट, बालुवाटार र बूढानीलकण्ठ) मिलेर यो घटना सामसुम पारिने त होइन ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री श्रेष्ठले भने, ‘भ्रष्टाचार र अपराधका कुरा अनुसन्धान गर्दाखेरी तीन ‘ब’ ले रोक्न सक्दै्न । भ्रष्टाचारको कुरा वा अपराधका घटनाका सम्बन्धमा अनुसन्धान गर्दाखेरि कुनै कोट, कुनै टार, कुनै पार्टी मलाई मतलब छैन,हामीले अनुसन्धानलाई जरैसम्म पुर्याउँछौं।’ उनले भने ।