FLASH NEWS

कांग्रेस सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा


नेपाल आवाज ५ श्रावण २०८०, शुक्रबार १३:२८ मा प्रकाशित १३५७ पाठक संख्या

काठमाडौं – नेपाली कांग्रेसका सांसद सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन् । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सुन तस्करी बारेको छानबिनमा सहयोग गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिनु पर्ने माग गरेका हुन् ।


अर्थ मन्त्रालय मातहत रहेको राजस्व विभाग र गृह मन्त्रालय मातहतको सुरक्षा निकायले एक क्वीन्टल सुन अवैध रुपमा भित्रिएको थाहा नपाउने भन्ने कुरै नहुने उनले बताए । उनले प्रधानमन्त्री मातहतको राष्ट्रिय अनुसन्धान विभागले सुन पक्रेको पनि दाबी गरे ।

‘प्रधानमन्त्री जिवनसाथीको निधनमा शोकमा हुनुहुन्छ । यहि बेला सय किलो सुन अवैध रुपमा आयो । राजस्व विभाग अर्थमन्त्रालय अन्तरगत पर्छ । सुरक्षा गृहमन्त्रालय मतहत छ । दुवै निकायले थाहा नपाइ सुन आउने कुरा हुँदैन,’ उनले भने, ‘प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय अनुसन्धान विभागले नियन्त्रणमा लियो । यसका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिनुपर्छ ।’

दुई मन्त्रीले बाटो खुला गरेर प्रधानमन्त्रीलाई सहयोग गर्नु पर्ने उनको भनाई थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र भन्सारबाट पास भएर निकालिएको एक क्विन्टल सुन त्रिभुवन विमानस्थल कार्गो भवन अघिबाट बरामद भएको थियो । त्यस प्रकरणमा एक चिनियाँ नागरिकसहित १० जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ ।