FLASH NEWS

४० वर्षमुनिका युवालाई केन्द्रीय सदस्य बनाउन राप्रपाले माग्यो आवेदन


नेपाल आवाज ५ श्रावण २०८०, शुक्रबार २१:४६ मा प्रकाशित ५८७५ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४० वर्षमुनिका युवाहरूका लागि केन्द्रीय सदस्य पदको लागि आवेदन आह्वान गरेको छ।


शुक्रबार पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले सूचना जारी गर्दै ४० वर्षमुनिका २० जना युवाहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनयन गर्नेगरी आवेदन आह्वान गरेको हो।

आवेदनमा भनिएको छ,’राष्ट्रिय प्रजातन्त्र पार्टीको नविन राप्रपा अवधारणा अन्तर्गत ४० वर्षमुनिका थप २० जना व्यक्तिलाई केन्द्रीय सदस्य पदमा मनोनयन गर्ने केन्द्रीय कार्य समितिको निर्णयअनुसार देहायका योग्यता पुगेका पार्टीमा रहनुभएका तथा पार्टी बाहिर रहे पनि पार्टीको नीति, सिद्धान्त, एजेण्डा र उद्देश्यप्रति प्रतिबद्ध रही राप्रपाको केन्द्रीय सदस्य भई सक्रिय राजनिति गर्ने चाहना भएका नेपाली नागरिकबाट खुला आवेदन माग गरिएको छ।’

राप्रपाले आवेदन दिन चाहने युवाहरूका लागि ३० दिनको म्याद तोकेको छ। सो अवधिभित्र [email protected] वा [email protected] इमेलमार्फत् आफ्नो व्यक्तिगत विवरण तथा कार्ययोजना पठाउनु पर्ने राप्रपाले जनाएको छ ।

आवेदनमा थप भनिएको छ, ‘प्राप्त दरखास्त मध्येबाट भूगोल, जनसंख्या, पार्टीको प्रभाव क्षेत्र विस्तारको सम्भावना र नेतृत्व विकासका सम्भावनाको आधारमा न्यूनतम ५० प्रतिशत अर्थात कम्तीमा १० जना महिलासहित २० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिने ब्यहोरा समेत जानकारीको लागि अनुरोध छ ।’

यस्ता छन् मापदण्ड 

क. उदीयमान प्राज्ञिक युवा तथा महिला

ख. राजनैतिक फाँटमा सक्रिय रहेका र भावी नेतृत्व विकासको सम्भावना बोकेका

ग. राप्रपाको सिद्धान्त, नीति र उद्देश्य प्रति प्रतिबद्ध

घ. सूचना प्रविधि र सामाजिक सञ्जाल परिचालनमा पोख्त

ङ. नेपालको बहु भाषाको ज्ञान भएको

च. प्रत्यक्ष निर्वाचनमा पार्टीको उम्मेदवार बन्ने प्रतिबद्धता जनाउने