FLASH NEWS

इटहरीमा पिकअपसँग ठोक्किँदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु


नेपाल आवाज ६ श्रावण २०८०, शनिबार ०९:४५ मा प्रकाशित १२१९ पाठक संख्या

विराटनगर – सुनसरीको इटहरीमा मोटरसाइकल र पिकअप ठोकिँदा ३ जनाको मृत्यु भएको छ । चारजना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानको २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरी रहेको प्रहरीले जनाएको छ ।

कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शुक्रबार राति १०ः४० बजेतिर इटहरी १७ कान्छी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो ।

पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर भएको थियो ।

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार चारैजनालाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र उपचारका क्रममा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।पिकअप चालक भारत दार्जीलिङ फोडिगढी बस्ने ३२ वर्षीय गोविन्द वरमुनलाई इलका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।