FLASH NEWS

अवैध सुन तस्करी प्रकरण : एक्स–रे हेर्ने भन्सार कर्मचारी निलम्बित


नेपाल आवाज ६ श्रावण २०८०, शनिबार १०:४४ मा प्रकाशित १४०५ पाठक संख्या

काठमाडौं – करिब एक क्विन्टल अवैध सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल कार्यालयका नायब सुब्बा सरोज श्रेष्ठ निलम्बित भएका छन् । सुन बाहिरिएको दिन एक्स–रे मेसिन हेर्ने जिम्मा श्रेष्ठले पाएका थिए ।


भन्सार विभागले यसअघि कार्यालयका दुई जना कर्मचारीलाई निलम्बन गरिसकेको छ । भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरेको थियो ।

क्याथे प्यासिफक एयरलाइन्सबाट काठमाडौँ आएको अवैध सुन गत बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चेकजाँच पास गरी लाँदै गरिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

यस प्रकरणमा चिनियाँ नागरिकसहित १० जनालाई पक्राउ परेका छन् । भन्सार कार्यालयका कर्मचारीको संलग्नता छानबिन गर्न विभागले अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा टोली नै गठन गरेको छ । अहिले प्रहरी तथा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेकाे छ।