FLASH NEWS

‘कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खान हुँदैन’: माधवकुमार नेपाल


नेपाल आवाज ७ श्रावण २०८०, आईतवार ११:५९ मा प्रकाशित १०८१ पाठक संख्या

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खान नहुने बताएका छन् ।


आइतबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले यस्तो बताएका हुन् ।

उनले कम्यनिष्ट पार्टीहरू आफ्ना आफ्ना पसल थापेर बसेको भन्दै सबैलाई एक ठाउँमा ल्याउन जरुरी रहेको बताए । उनले मिल्न सक्ने, सहकार्य गर्नसक्नेहरुबीच सहकार्य र एकता गरेर अघि बढ्ने बताए ।

उनले कम्युनिष्टहरुलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने बताए । अध्यक्ष नेपालले कम्युनिष्टहरु जति धेरै विभाजित हुन्छन् त्यत्ति धेरै नोक्सान हुने बताए ।

अध्यक्ष नेपालले भने, ‘कमरेड वामदेव गौतमले कम्युनिष्ट पार्टी शक्तिलाई मिलाऊँ भनेर जोड दिनुभयो । सबै कम्यनिष्ट पार्टीहरू आफ्ना आफ्ना पसल थापेर बसेका छन्, आफ्ना आफ्नै पाराले चलिरहेका छन् । त्यसका बाबजुद पनि हामीले हरेक खानु हुँदैन । उहाँको संकल्प, उहाँको भावना अत्यन्त राम्रो छ । यस अर्थमा जो जो जति मिल्न सक्छन् मिल्दै जाने हो । सहकार्य गर्दै जान सक्छन्, सहकार्य गर्दै जाने हो, यस अर्थमा हामीले हरेस खान जरुरी छैन, मेहनत गरेर प्रयत्न गर्नुपर्छ । जति शक्तिलाई मिलाउन सकियो, त्यत्ति हामी बढी शक्ति आर्जन गर्न सक्छौँ । त्यत्ति धेरै ऊर्जा पैदा गर्न सक्छ । जति हामी विभाजित बन्छौँ त्यत्ति धरै नोक्सान हुन्छ, कम्युनिष्ट आन्दोलनको एकता, एकताबद्ध बनाउनको निम्ति हाम्रो तर्फबाट प्रयत्न हुनेछ ।

उनले कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गराउन आफू सकारात्मक रहेको पनि बताए।