FLASH NEWS

चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली काठमाडौंमा


नेपाल आवाज ७ श्रावण २०८०, आईतवार १५:०८ मा प्रकाशित १३६९ पाठक संख्या

काठमाडौं – चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युन नेतृत्वको टोली आज काठमाडौं आइपुगेको छ ।


केहि बेरअघि श्रीलंकन एयरको जहाजमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको चिनी राष्ट्रपति सी चिनफिङका विश्वासपात्र युआन नेतृत्वको २५ सदस्यीय टोलीले ९ साउनसम्म उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन्।

तीन दिने भ्रमण आएको युआनसहितको भिआइपी टोली बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा बस्नेछ भने टोलीका अरु सदस्यको लागि म्यारियट होटलमा बस्ने प्रवन्ध मिलाइएको बताइएको छ ।

टोलीले राष्ट्रपति रामचन्द्र पौडेल,कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का,उपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का कार्यबाहक अध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल,कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरुसँग भेटवार्ता गर्नेछ ।

युआनले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साउन ७ मा भेट्ने कार्यक्रम रहे पनि प्रचण्ड शनिबारै इटाली लागेपछि प्रधानमन्त्रीसँग भने भेटवार्ता नहुने भएको छ ।

यसै क्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट हुने अवस्था छैन । अध्यक्ष ओली कम्बोडिया हुनुहुन्छ ।

निकट भविष्यमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको तयारी भइरहँदा चिनियाँ नेताहरू काठमाडौं आएका हुन् ।

सीपीसीका नेताहरू निरन्तर काठमाडौं–बेइजिङ आवतजावत गरिरहेका छन् । राजनीतिक संवाद बाक्लो बनाउने नीतिमा देखिएको सीपीसी काठमाडौंमा प्रमुख दलका नेताहरूसँग निरन्तर संवादमा देखिन्छ ।

गत जेठमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा निस्कँदै गर्दा माओवादी नेताहरूको एउटा टोली बेइजिङ थियो । उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा केही पदाधिकारीसहित ठूलो टोली बेइजिङ गएको थियो ।

यसैबीच चिनियाँ नेताहरूको टोली काठमाडौं आउन लागेकै दिन माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोलीले भारत भ्रमण गर्दै छ । भारतीय जनता पार्टीको निम्तामा उनीहरू आज बेलुकी ५ बजे भारत जान लागेका हुन् । भाजपा अध्यक्ष जेपी नाड्डाले भाजपा चिनौँ अभियानअन्तर्गत उनीहरूलाई बोलाएका हुन् ।