FLASH NEWS

एसीसी इमर्जिङ कप : भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि


नेपाल आवाज ७ श्रावण २०८०, आईतवार २२:१४ मा प्रकाशित १४१७ पाठक संख्या

काठमाडौं – एसिसी इमर्जिङ टिम्स एसिया कपको फाइनलमा भारत ए माथि सानदार जित निकाल्दै पाकिस्तान ए ले उपाधि जितेको छ। श्रीलंकामा शनिबार भएको फाइनलमा पाकिस्तानले १ सय २८ रनको सानदार जित हात पारेको हो।


यससँगै पाकिस्तानले लगातार दोस्रो पटक उपाधि जितेको छ।

जितको लागि ३ सय ५३ रनको विशाल चुनौती दिएको पाकिस्तानले भारतलाई ४० ओभरमा २ सय २४ रन बनाउँदा अलआउट गर्यो।

भारतका ओपनर अभिषेक शर्माले ५१ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिए पनि टोलीको जितका लागि पर्याप्त भएन। त्यस्तै अर्का ओपनर साई सुदर्शनले २८ बलमा ४ चौकासहित २९ रनमा क्याच आउट भए।

भारतलाई ओपनर साई सुदर्शन र अभिषेक शर्माले ८।३ ओभरमा ६४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर त्यसपछि कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

पाकिस्तानका स्पिनरले भारतको मध्यक्रम धरासयी बनाउँदै उपाधि यात्रा सहज बनाए।

कप्तान यश धुल ४१ बलमा ४ चौकासहित ३९, निशान्त सिन्धु १०, ध्रुब जुरेल ९, रियान पराग १४ र हर्षित राना १३ रनमा आउट भएपछि भारतको जितको सम्भावना सकिएको थियो ।

पाकिस्तानको जितमा सुफियान मुकीमले १० ओभरमा ६६ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। अर्शद इकबाल, मोहम्मद वासिम जुनियर र मेहरान मुमताजले समान दुई विकेट लिए ।

त्यसअघि कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको थियो । पाकिस्तानलाई च्याम्पियन बनाउन तयाब ताहिरले ७१ बलमा १२ चौका र ४ छक्कासहित १ सय ८ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

पाकिस्तानलाई दुई युवा ओपनर सैइम अयुब र शहिबजादा फहरानले ड्रिम सुरुवात दिलाएका थिए । ओपनर अयुब र फहरानले १७।२ ओभरमा १ सय २१ रनको सानदार शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

अयुबले ५१ बलमा ७ चौका र २ छक्कासहित ५९ रन बनाए । फहरान ६२ बलमा ४ चौका र ४ छक्कासहित ६५ रनमा रन आउट भए ।

मध्यक्रमका ब्याटर ओमैर युसुफ ३५ बलमा ४ चौकासहित ३५, कसिम अक्रम डक र मोहम्मद हरिस २ रनमा आउट भए ।

तर छैटौं विकेटका लागि मुबासिर खान र तयाब ताहिरले १ सय २६ रनको सानदार शतकीय साझेदारीका साथ विशाल योगफलमा पुर्याए । मुबासिर खान ४७ बलमा २ चौका र २ छक्कासहित ३५ रनमा आउट भए ।

मोहम्मद वासिम जुनियर १० बलमा १ चौका र १ छक्कासहित १७ रनमा नट आउट रहे । मेहरान मुमताज १३ रनमा आउट भए । भारतका राजवर्धन हगांगेकार र रियान परागले समान दुई विकेट लिए ।

हर्षित राना, मानव सुथार र निशान्त सिन्धुले समान एक विकेट लिए । समूह चरणमा भने पाकिस्तान भारतसँग ८ विकेटले पराजित भएको थियो ।