FLASH NEWS

भ्रष्टाचार मुद्दा लागेपछि खोटाङका सिडिओ खतिवडा निलम्बित


नेपाल आवाज ७ श्रावण २०८०, आईतवार २२:५० मा प्रकाशित १६८१ पाठक संख्या

काठमाडौं – खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बनमा परेका छन् । भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेपछि खतिवडा निलम्बनमा परेका हुन् ।


तत्कालीन सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा उनले विद्युत् लाइन विस्तार परियोजनामा तार, पोल ट्रान्सफर्मर खरिद एवं निर्माण आयोजनामा भ्रष्टाचार गरेको आरोप छ ।

गृह मन्त्रालय स्रोतका अनुसार खतिवडालाई आइतबार नै निलम्बन गरिएको हो । खतिवडा निलम्बनमा परेपछि उनको स्थानमा अर्का प्रजिअ पठाइने भएको छ ।

खतिवडासँगै विद्युत प्राधिकरण, ओखलढुंगा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, वडा नम्बर १० का तत्कालीन वडा अध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृतकुमार दाहाल र तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक दिलकुमार बुढाथोकीविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।