FLASH NEWS

सवारीसाधनको लाइसेन्स बनाइदिने,ट्रायल पास गराइदिने भन्दै ठगी गर्ने पक्राउ


नेपाल आवाज ८ श्रावण २०८०, सोमबार १२:२१ मा प्रकाशित १६६३ पाठक संख्या

काठमाडौं – सवारीसाधनको लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुईजना पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा ललितपुर एकान्तकुनाका ३० वर्षीय राजु परियार र काठमाडौं कलंकी, सुनारगाउँका ३६ वर्षीय ब्रम्हा रिसाल छन् । शनिबार पक्राउ परेका परियार र आइतबार पक्राउ परेका रिसाललाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्तासमेत रहेका एसपी रविन्द्र रेग्मीका अनुसार परियार लुभुबाट र रिसाल काठमाडौंबाट पक्राउ परेका हुन् । रिसाल सुन पसल सञ्चालकसमेत हुन् ।

परियारले यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी हुँ भन्दै सेवाग्राहीलाई ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार परियारले १२ जनाभन्दा बढी व्यक्तिहरूलाई लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण जाँचपास गराइदिने भन्दै विश्वास दिलाएर ठगी गरेको प्रहरीको दाबी छ ।

उनले सुन र नगद गरी चार लाख ३० हजार रुपैयाँ बराबरको ठगी गरेको प्रहरीले दाबी छ । ठगीको सुन किनेको आरोपमा प्रहरीले रिसाललाई पक्राउ गरेको हो । उनीहरूविरुद्ध ठगी मुद्दामा जिल्ला प्रहरी परिसर ललितपुरबाट थप अनुसन्धान भइरहेको छ ।