FLASH NEWS

पुलिस रिपोर्टको काम अनलाइनमार्फत गर्न परराष्ट्रमन्त्रीको निर्देशन


नेपाल आवाज ८ श्रावण २०८०, सोमबार १७:०० मा प्रकाशित १०९३ पाठक संख्या

काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागलाई प्रहरी चारित्रिक प्रमाणपत्र (पीसीसी) का सम्पूर्ण कामहरु अनलाइनमार्फत् गर्न निर्देशन दिएका छन् ।


उनले विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई १० दिनभित्रै प्रहरी चारित्रिक प्रमाणपत्रका सम्पूर्ण कामहरु अनलाइनमार्फत् हुने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

अहिले प्रहरी चारित्रिक प्रमाणपत्रका अन्य कामहरु अनलाइनमार्फत् हुने भए पनि कन्सुलर विभागको छाप र प्रमाणीकरण गर्ने अधिकारीको हस्ताक्षरसहितको पत्र बुझ्न सेवाग्राही स्वयं अथवा इच्छाएको व्यक्ति उपस्थित हुनै पर्ने बाध्यता छ ।

जसका कारण राहदानी विभागमा सेवाग्राहीको भिड लाग्ने गरेको छ । राहदानी विभागमा देखिदै आएको भिडभाड न्युन गर्न र सेवाग्राहीले प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि उपस्थित हुनुपर्ने बाध्यता हटाउन परराष्ट्रमन्त्री साउदले उक्त निर्देशन दिएका हुन् ।

कन्सलर सेवा विभागका महानिर्देशन पौडेलले अनलाइनमार्फत् कामहरु अघि बढाउनका लागि टिप्पणी उठाउने काम भइसकेको र मन्त्रीबाट स्वीकृत गराएर दुई साताभित्रै लागु गरिने बताए ।