FLASH NEWS

डीएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्न गृह मन्त्रालयसमक्ष प्रहरीको सिफारिस


नेपाल आवाज ८ श्रावण २०८०, सोमबार १७:३६ मा प्रकाशित १५३७ पाठक संख्या

काठमाडौं – ३५ तोला सुनसहित पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।


प्रहरी प्रधान कार्यालय नक्सालले आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरितको कार्य गरेको भन्दै जागिरबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।

प्रहरी ऐन तथा नियमावली २०७१ विपरीत कार्य गरेको पाइएको भन्दै डीएसपी केसीलाई बर्खास्त गर्नुपर्ने प्रहरी प्रधान कार्यालयको पत्रमा उल्लेख गरिएको छ। प्रहरी प्रधान कार्यालयबाट भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी पत्र गइसकेपनि गृहबाट निर्णयबारे जानकारी आइसकेको छैन ।

बुटवलमा रहँदा डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद, ९ लाख ५० हजार रुपैयाँको चेक लगायत बरामद गरेको थियो । लगत्तै छानबिनका लागि तत्कालीन एसएसपी चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको थियो ।

समितिले केसीलाई फौजदारी कसूर अन्तरगत छानबिन गर्न सिफारिस गरेपनि आन्तरिक छानबिन मात्र भएको थियो । एक साताअघि नै प्रहरी प्रधान कार्यालयले सेवाबाट हटाउन सिफारिस गरे पनि अहिलेसम्म केसीलाई बर्खास्त भने गरिसकिएको छैन।