FLASH NEWS

भ्रष्ट्राचार र अनियमिततामा प्रमाण भेटे कसैलाई छोड्दैनौं : गृहमन्त्री श्रेष्ठ


नेपाल आवाज ८ श्रावण २०८०, सोमबार १८:१५ मा प्रकाशित १४४१ पाठक संख्या

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गर्ने बताएका छन् ।


सोमबार आयोजित समाजवादी यात्राको चुनौती:भ्रष्टाचार र दण्डहीनता विषयक प्रवचन गोष्ठीमा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणमा स्वच्छ र निश्पक्ष ढंगले अनुसन्धान अगाडि बढाउन निर्देशन दिइएको बताए । उनले अनुसन्धानले तथ्य र प्रमाणको आधारमा जहाँसम्म पुग्नुपर्ने हो, त्यहाँसम्म पुगिने बताए।

गृहमन्त्री श्रेष्ठले भने, ‘पार्टीको मलाई कुनै तलब छैन, सरकारलाई कुनै मतलब छैन । सबै समान हुन् कि भ्रष्टाचारी हुन् कि भ्रष्टाचारी होइनन् । कि दोषी हुन् कि दोषी होइनन् ।’

उनले राजनीतिक नेताहरु, व्यवसायीहरु तथा कर्मचारीहरु दोषी देखिए, नियन्त्रणमा लिइए वा मुद्दा चलाइयो भने ती क्षेत्रबाट ‘यो त भएन नि’ भन्नै असन्तुष्टि व्यक्त हुने गरेको बताए।

उनले सरकार कुनैपनि हालतमा अपराधीलाई छुट दिने पक्षमा नरहेको र प्रमाणसँगै सबै दोषीलाई कारबाही हुने प्रतिवद्धता जनाए । गृहमन्त्री श्रेष्ठले धनीलाई एउटा र गरिब अर्को कानुन, विपन्नलाई एउटा र सम्पन्नलाई अर्को कानुन आफूले नमान्ने बताए। सरकारले त्यसलाई स्वीकार गर्न नसक्ने उनको भनाइ छ। उनले कानून सबैका लागि बराबर हुने बताए ।

उनले भने, ‘सामाजिक न्यायसहितको समृद्धि, समाजवादउन्मुख समृद्धिको दिशातर्फ हामी जानुपर्छ। आजको मिसन यसलाई बनाउनुपर्छ। त्यसैअन्तर्गतका मिसनमा सरकार र गृह मन्त्रालयले काम गरिरहेको छ। यस सन्दर्भमा प्रश्न उठिरह्यो। कि यो कहाँसम्म जान्छ ? मैले बारम्बार भनेको छु कि स्वच्छ र निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाइनेछ।’

दोषी र अपराधीलाई नछाडिने उनले बताए। उनले भने, ‘निर्दोष फस्ने काम नहोस्, दोषी र अपराधी छुट्ने काम नहुन्।’
मन्त्री श्रेष्ठले अपराधमा संलग्नहरूलाई प्रमाणले भ्याएसम्म सबैलाई कारबाही हुने बताए।