FLASH NEWS

पार्टी फुटाउँछु भनेको छैन, संसदीय दलको नेता फेर्ने कुराले आत्तिनुपर्दैन : महामन्त्री थापा


नेपाल आवाज ८ श्रावण २०८०, सोमबार १९:४० मा प्रकाशित ११८३ पाठक संख्या

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने काममा आफू लागिरहने बताएका छन् ।


सोमवार पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सबै पुराना राजनीतिक दल सङ्कटमा पर्ने कारण भनेको ३०/३५ वर्षदेखि ४/५ जना नेतामात्रै सत्ता र नेतृत्वमा घुमिरहनु रहेको बताए । उनले संसदीय दलको नेता बदल्ने कुरा अहिलेको आवश्यकता भएकाले आफू अझै संसदीय दलको नेता फर्न लागिपर्ने बताए । उनले पार्टी सभापति शेरबहादुर देउवाले आफू ५ पटक प्रधानमन्त्री बनिसकेकाले अर्को नेता पार्टीको संसदीय दलको नेता बनोस् भनेर आह्वान गर्ने अपेक्षा राखेको पनि बताए । महामन्त्री थापाले आफूले पार्टी फुटाउने कुरा नगरेको भन्दै संसदीय दलको नेता फेर्ने कुरा गर्दा आत्तिन नपर्ने बताए ।

उनले भने, ‘सबै पुराना राजनीतिक दल सङ्कटमा पर्ने कारण भनेको ३०/३५ वर्षदेखि ४/५ जना नेतामात्रै म्युजिकल चियर खेलेको जस्तो आलोपालो गरेर नेतृत्व गरिरहेका छन् । त्यसैले पनि मानिसहरू रिसाएका छन् । त्यसैले पार्टी परिवर्तन गर्नुपर्छ । यो कुनै व्यक्तिगत कुरा होइन, सभापतिज्यु मेरो पितातुल्य हुनुहुन्छ । तर म सार्वजनिक रूपमै भन्छु, नेपालको राजनीतिमा यो विषयले प्रवेश पाएन भने र यो व्यवस्था गरिएन भने के हुन्छ ? हाम्रो पार्टीको एउटा पद्धति छ । त्यो पद्धतिबाट पार्टी सत्तामा आउँछ । त्यो पार्टी सत्तामा हाम्रो पकड भएको कारणले गर्दा हामी त्यसको सत्तामा आउँछौँ । हामीले घुमिफिरी एक जना मात्रै नेतृत्वमा आउने प्रयास बदल्नुपर्छ । मेरो प्रयास जारी हुन्छ । त्यही भएर मैले नेपाली काँग्रेसको संसदीय दलको नेता बदल्ने प्रयास गरेँ । सकिनँ, परिणामलाई माने, मान्नैपर्छ । तर अब गर्नै मिल्दैन त, पार्टीको विधानले गर्न दिन्छ, आवश्यकता छ, सम्भव हुन्छ, कर्म गर्ने हो, फलको आश नगर्ने हो । मलाई लाग्छ गाह्रो छ, सांसदहरूको मत पाउने कुरा भनेको गाह्रै छ नि । गाह्रो छ थाहा छ, तर गाह्रो छ भनेर ठिक भएको काम छोड्न हुँदैन । म के चाहन्छु भने, सभापतिज्यूले यसो एक दुई महिनापछि ल यार पाँच पटक भइसकेँ, छैटौँ पटक किन हुने रु को हुने हो अघि आऊ भनिदिनुहुन्छ की रु राम्रै हो । म हुनुपर्छ पर्दैन, जो भएपनि हुन्छ । मैले साथ दिने हो तर कोही अघि नबढ्दा अघि बढ्ने हो नि । साथीहरू किन आत्तिनुभएको रु मैले पार्टी फुटाउने कुरा गरेको हो र रु मैले त दलको नेता फेर्ने कुरा गरेको हो । सभापतिज्यूलाई यो कुरा ठिक हो भन्ने लागेको छ, वरिपरि बस्ने साथीलाई चिन्तित बनाएको छ । धेरै चिन्ता गर्नुपर्दैन । म बदल्न लागिरहन्छु, कसैले नसोध्नुहोला अब ।’

महामन्त्री थापाले वर्तमान सत्ता गठबन्धनको नेता काँग्रेस भएकाले आफ्ना सर्तहरूमाथि सम्झौता गर्नु नहुने बताए । उनले अबको ४ वर्षमा देशमा सङ्घीयता चाहिन्छ भन्ने मनोभावना विकास गर्ने चुनौती रहेको उल्लेख गरे ।