FLASH NEWS

नेपालको स्वतन्त्रता,पहिचान,एकता,सामाजिक सद्भावका लागि हिन्दू राष्ट्र अपरिहार्य: अध्यक्ष लिङ्देन


नेपाल आवाज ८ श्रावण २०८०, सोमबार २०:३१ मा प्रकाशित २१४९ पाठक संख्या

सुनसरी – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन धरानस्थित पिण्डेश्वर मन्दिरमा आयोजित धार्मिक पदयात्रामा सहभागी भएका छन् ।


हिन्दुराष्ट्र पुनः स्थापनाका लागि भन्दै साउनको दोस्रो सोमबार धरानमा आयोजित पदयात्रापछि बोल्दै अध्यक्ष लिङ्देनले साउन महिनादेखि सुरु हुनेगरी पार्टीले नवीन राप्रपा कार्ययोजना लागू गरेको बताए ।

उनले यस योजना कार्यान्वयनका लागि देशका सबै स्थानीय तहमा ९०० जना नेताहरू परिचालित गरिएको बताए ।

‘मेरो कार्यक्षेत्र धरान उपमहानगरपालिका परेको छु, आजैबाट कार्य प्रारम्भ गरेको छु’, उनले भने । उनले संगठनात्मक कार्ययोजना सुरु गर्ने क्रममा धरान उपमहानगरपालिका वडा नं १४ को विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा धार्मिक गतिविधिमा सहभागी भएको समेत बताए ।

लिङ्देनले ०६२/०६३ को राजनीतिक परिवर्तनपछि जनचाहना विपरीत, बहुसङ्ख्यक जनताको भावना विपरीत जबरजस्ती धर्मनिरपेक्षता कायम गर्दाको दुष्परिणाम देशमा यतिबेला देखिन थालेको बताए ।

‘धर्मनिरपेक्षताले देशको दीर्घकालीन हित असम्भव छ । नेपालको स्वतन्त्रता, पहिचान, एकता, सामाजिक सद्भावका लागि हिन्दू राष्ट्र अपरिहार्य छ । धर्मनिरपेक्षले देश बर्बाद पार्ने देखेर नै आफू किराँत धर्मावलम्बी भएर पनि हिन्दू राष्ट्रको वकालत गरिरहेको हो’, अध्यक्ष लिङदेनले भने । अध्यक्ष  लिङ्देनले धर्म निरपेक्षताको आडमा भइरहेको अवाञ्छित गतिविधि नियन्त्रण गरिनुपर्ने बताए ।

लिङ्देन नेतृत्वको पदयात्रा पिण्डेश्वर मन्दिर, विजयपुरमा रहेका दन्तकाली,बुढासुब्बा मन्दिरमा समेत पुगेको थियो ।  सो अवसरमा राप्रपाका कार्यकर्ता, विभिन्न धार्मिक संघसंस्था र धर्मप्रति आस्था राख्नेहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।