FLASH NEWS

विमानस्थल भन्सारबाट बरामद भएका ६ वटा बाकसमा भेटिएन सुन


नेपाल आवाज ८ श्रावण २०८०, सोमबार २१:१५ मा प्रकाशित १२४३ पाठक संख्या

काठमाडौं – त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट राजस्व अनुसन्धान विभागको टोलीले साउन ४ मा ६ वटा शंकास्पद बाकस बरामद गरेको थियो । तस्करीको सुन भएको आशंकामा बरामद सामानमा सुन फेला नपरेको अनुसन्धानमा संलग्न अधिकृतहरुले बताएका छन् ।


बरामद सामान बुढानिलकण्ठस्थित ‘रेडी ट्रेड प्रालि’ र ‘दोलखा इलेक्ट्रिक’ ले कार्गोमार्फत ल्याएका थिए । ती बाकसमा दाह्री काट्ने ‘सेभर’ भटिएको र त्यहाँ सुन फेला नपरेको राजस्व अनुसन्धान विभागका एकजना अधिकृतले  बताए । ती अधिकृत भन्छन्– ‘सोमबार बाकस खोल्दा सुन फेला परेन ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन ‘रेड ट्रेड प्रालि’ ले मगाएको थियो । सोही कम्पनीको थप सामान भेटिसँगै थप अवैध सुन भएको आशंकामा विभागले सामान बरामद गरेको थियो ।

असार ३० मा हङकङकबाट क्याथे प्यासेफिकको उडानमार्फत रेडी ट्रेडले ‘ब्रेक प्याड’ भनेर ल्याएको सामानमा करिब १ सय किलो सुन भेटिएको छ । त्यसबारे सशस्त्र प्रहरीको सहयोगमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । राजश्व अनुसन्धान विभागले प्रहरीको सहयोग मागेपछि प्रहरी प्रधान कार्यालयले मानव बेचविखन अनुसन्धान ब्युरोमा कार्यरत एसपी कृष्ण पंगेनीको टोलीले थप अनुसन्धान गरिराखेको छ । बरामद सुनको यकिन तौल आइसकेको छैन ।