FLASH NEWS

गृहमन्त्रीको गैरजिम्मेवारीले हद नाघ्यो, सुनकाण्डमा त्यत्तिकै छोड्दैनौं : एमाले अध्यक्ष ओली


नेपाल आवाज ९ श्रावण २०८०, मंगलवार १०:४७ मा प्रकाशित १८३१ पाठक संख्या

काठमाडौं – नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बाहिरिएको बारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।


उनले गृहमन्त्रीको ‘बद्तमिज र गैरजिम्मेवारी’ले हद नाघेको उल्लेख गरेका छन् । कम्बोडिया भ्रमणबाट फर्केका अध्यक्ष ओलीले सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग गृहमन्त्रीले दिएको अभिव्यक्ति र उनको कार्यशैलीमाथि टिप्पणी गरेका हुन् ।

‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ । उहाँले एयरपोर्टमा सेक्युरिटी बन्दोबस्त गर्नु भएको छ कि छैन ? एयरपोर्टमा सक्युरिटी गर्ने काम उहाँको हो कि होइन ? यहाँको आउने जानेहरुको निरीक्षण गर्ने काम उहाँको हो कि होइन ?’ अध्यक्ष ओलीले भने, ‘अनि क्विन्टलका क्विन्टलका सुन बाहिर जान्छ गृहमन्त्री ‘कोट’को गाला र ‘टार’को गालामा काँक्राको बियाँ टाँस्दै हुनुहुन्छ । यो अत्यन्तै अनैतिक क्रियाकलाप हो । गृहमन्त्रीको क्रियाकलाप गैरजिम्मेवार छ । आफू गृहमन्त्री भएर यस्ता खालका गैरजिम्मेवार कुरा गरेर हिँड्ने ?’

गृहमन्त्री श्रेष्ठले सुन पक्राउ परेपछि विमानस्थल भन्सार र अध्यागमनको निरीक्षण गर्ने क्रममा बालुवाटार र बालकोटप्रति संकेत गर्दै कुनै पनि ‘टार, कोट र पार्टी’ ले पनि यसको छानबिनमा रोक्न नसक्ने बताएका थिए ।

उनले गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ वा छैन भन्ने कुरा प्रमाणित गर्नुपर्ने र आफ्नो संलग्नता नभए कसको छ भन्नुपर्ने बताए ।

उनले विमानस्थलमा गृह मन्त्रालयले सुरक्षाकर्मी राखेको छ की छैन भन्दै प्रश्न गरे ।  उनले कसैले गृहमन्त्रीको जबाफदेहीको कुरा उठायो भनेर गृह मन्त्रालय मुद्दा हाल्न जानु कति न्यायसङ्गत हुन्छ भन्दै प्रश्न गरे ।

एक सञ्चारमाध्यमले  सुन तस्करी प्रकरणको समाचारमा आफ्नो फोटो राखेकोप्रति ओलीले आपत्ति जनाए  । उनले नेपाल च्याम्बर अफ कमर्सको अधिवेशनमा खिचिएको फोटो जोडेर आफ्नो भ्रामक प्रचार गरिएकोप्रति आपत्ति जनाए । सुन तस्करीको विषयलाई छोप्न गृहमन्त्रीले कुराहरू मोड्ने काम गरिरहेको बताए ।

उनले अनियमितता गर्नेहरूलाई अब छुट नहुने बताए । अध्यक्ष ओलीले सुन काण्डको सिलसिलाको कारबाही अन्तिमसम्म नपुर्याइकन एमालेले नछोड्ने बताए । उनले सुन बोक्ने भन्दा पनि बोक्न लगाउनेहरूलाई समातेर कारबाही नगरेसम्म एमाले चुप लागेर नबस्ने चेतावनी दिए ।

अध्यक्ष ओलीले क्विन्टल सुन विमानस्थलबाट बाहिरिँदा त्यहाँको सुरक्षा व्यवस्था के भएको थियो भन्दै गृहमन्त्रीको भूमिकामाथि नै आशङ्का  व्यक्त गरे ।