FLASH NEWS

सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका डीएसपी केसी बर्खास्त


नेपाल आवाज ९ श्रावण २०८०, मंगलवार २०:५० मा प्रकाशित १३८१ पाठक संख्या

काठमाडौं – सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन् ।


प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनलाई गृह मन्त्रालयले सोमबार बर्खास्त गरेको हो । डीएसपी केसीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको बताइएको छ ।

प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरीतको कार्य गरेको देखिएको भन्दै केसीलाई जागिरबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।

बुटवलमा रहँदा डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद, ९ लाख ५० हजार रुपैयाँको चेक लगायत बरामद गरेको थियो ।

लगत्तै छानबिनका लागि तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको थियो । उक्त समितिले पनि उनलाई भ्रष्टाचार ऐन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।