FLASH NEWS

एमाले अध्यक्ष ओली भन्छन् -‘सत्ताधारी दलले देश लुटिरहेका छन्,नाङ्गो नाच देखाइरहेका छन्’


नेपाल आवाज १० श्रावण २०८०, बुधबार १३:५२ मा प्रकाशित ११६५ पाठक संख्या

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्षका नेता केपी शर्मा ओलीले १०० किलो सुन बरामद प्रकरणमा सत्ता गठबन्धनले नाङ्गो नाच देखाइरहेको बताएका छन् ।


नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले सत्तारुढ दलले नाङ्गो नाच देखाइरहेकाले एमाले चुप लागेर बस्न नहुने बताए । अध्यक्ष ओलीले भने,’सत्ताधारी दलले देश लुटिरहेका छन् । नाङ्गो नाच देखाइरहेका छन् । अब हामी चुप लागेर बस्नु हुँदैन।’

सुन तस्करीमा गृहमन्त्रीको भूमिकालाई लिएर एमाले प्रश्न गर्दै आएको छ । सुन तस्करीमा आफूहरूलाई मुछेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको गेट बाहिरबाट बरामद भएको १०० किलो सुनको विषयलाई एमालेले सदनमा उठाउने तयारी गरेको छ।

सरकारका मन्त्रीहरूको संरक्षणमा लामो समयदेखि सुन तस्करी भएको भन्दै एमालेले सदनमा जवाफ माग्ने निर्णय पनि बैठकले गरेको छ।

नाम नचलेको र भर्खर स्थापना भएको रेडी ट्रेड दर्ता भएको ४ महिनाभित्र ३३ पटक ब्रेक शु र सेभिङ मेसिनजस्ता सामान शंकास्पद रूपमा भित्रिनुमा सरकारको संलग्नता रहेको आरोप एमालेको छ ।

गठबन्धन सरकारका मन्त्री र सरकारमै रहेका दलका नेताहरूको संलग्नताबिना सुन पास गराउन असम्भव भएको भन्दै छानबिन समिति बनाउन संसदमा आवाज उठाउन प्रमुख सचेतक गिरीले जानकारी दिए ।

गिरीले भने, ‘गृहमन्त्रीको संलग्नताबेगर सम्भव छैन त्यसैले यसबारे छानबिन हुनुपर्छ । यो सरकारले गर्ने छानबिनमाथि हामीलाई विश्वास छैन । संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्छ ।’