FLASH NEWS

सुन तस्करीबारे रास्वपाले दर्ता गर्‍यो सार्वजनिक महत्वको प्रस्ताव


नेपाल आवाज १० श्रावण २०८०, बुधबार १४:१२ मा प्रकाशित १२१९ पाठक संख्या

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले सुन तस्करीको विषयलाई लिएर संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । नेपाल सुन तस्करीको हब बन्दै गएकोमा सरकारको जवाफ माग्दै प्रस्ताव दर्ता गरिएको हो ।


रास्वपाका तर्फबाट सभापति रवि लामिछानेसहित पार्टीका सांसदहरुले हस्ताक्षर गरेका छन् । उक्त प्रस्तावमा सुन तस्करीको विषयलाई लिएर सरकार जवाफदेही बन्नुपर्ने र संसदमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरिएको छ ।

रास्वपका उपसभापति डीपी अर्यालले सुन तस्करीको विषयमा सरकारलाई संवेदनशील बन्नका लागि घच्घच्याउन खोजिएको बताए । ‘हामीले संसद अवरोध गर्नुभन्दा संसदीय प्रक्रियाबाटै सरकारलाई जिम्मेवार बनाउन चाहेका हौं,’ उनले भने ।

उता प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने यो प्रकरणमा गैरजिम्मेवारीको हद नाघेको भन्दै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने तयारी गरेको छ।

रास्वपाले भने यो प्रकरणमा कसैको राजीनामा नमागीलाई सरकारसँग जवाफ मागेको हो। रास्वपा महामन्त्री डा. मुकुल ढकालले अहिले आफ्ना सांसदहरूले गृहमन्त्रीको राजीनमा नमाग्ने बताए । ‘हामीले गृहमन्त्रीको राजीनमा माग्दैनौं । तस्करीबारे वृहद अनुसन्धान हुनुपर्छ भन्ने हो । भोलि गृहमन्त्री दोषी देखिएमा अर्कै कुरा हुन्छ,’ उनले भने ।

एक सय क्वीन्टल सुन तस्करीको घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको प्रभावकारितामाथि प्रश्न उठाएको प्रस्तावमा उल्लेख छ ।

‘यति ठूलो मात्राको सुन कसरी पत्ता नलागी भन्सार जाँचपास गर्यो ? यसले नेपालको सुरक्षा प्रणालीलाई कमजोर तुल्याएको छ,’ प्रस्तावमा भनिएको छ ।

रास्वपाले यति ठूलो मात्राको सुन कसरी पत्ता नलागी भन्सार जाँचपास भयो भन्ने विषयमा अनुसन्धान गर्न माग गरेको छ । बरामद भएका सुनको प्रयोग के-कसरी गर्ने सोचेको छ ? भन्ने सरकारबाट स्पष्ट खाका माग गरेको छ ।