FLASH NEWS

सुन प्रकरण छानबिन गर्न संसद्मा एमालेको माग


नेपाल आवाज १० श्रावण २०८०, बुधबार १५:५८ मा प्रकाशित १२८५ पाठक संख्या

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणबारे छानबिन गर्न माग गरेको छ । प्रतिनिधि सभाको बुधबारको बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरू बसेको ठाउँबाट उठेका थिए । लगत्तै सभामुख देवराज घिमिरेले बोल्न प्रमुख सचेतक पदम गिरीलाई समय दिएका छन् ।


उनले सत्ताको आडमा मान्छे जोगाउने काम भएको आरोप लगाउँदै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कुर्सीमा बस्ने नैतिकता नभएको बताए।

सुन तस्करीमा माओवादीका नेता कृष्णबहादुर महराले २०६७ सालमै चिनियाँ व्यापारीसँग कुरा गरेको टेप बाहिरिएको उनले बताए।

‘सय किलो सुन प्रकरणमा गृह प्रशासनका मान्छेको सेटिङमा सुन बाहिरिन्छ, राजस्व अनुसन्धानका डिजीलाई सुनको जानकारी हुँदा प्रधानमन्त्रीलाई जानकारी थियो कि थिएन? अर्थमन्त्रीलाई थियो कि थिएन?’ गिरीले प्रश्न गरे।

उनले अगाडि थपे, ‘गृहमन्त्री र प्रधानमन्त्रीले संरक्षण गर्नुभयो। उहाँहरुको सेटिङमा उहाँहरुको सेटिङमा भएको छ। यसमा सरकारले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्छौं। दिउँसै रात पार्ने काम भयो, देश लुट्ने काम भयो। क्विन्टलका क्विन्टल सुन भित्र्याएर सरकार लुटमा उत्रियो।’

गृहमन्त्री कुर्सीमा बस्न योग्य हुनुहुन्न। जनतामा भ्रम पार्ने कुरालाई नैतिकताको धरातलमा हुनुहुन्छ। उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ।’

उनले छानबिन समिति नबनेसम्म संसद चल्न नसक्ने बताए। प्रमुख सचेतक गिरीले बोलेपछि एमाले सांसदहरु उठेर गृहमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका छन्।