FLASH NEWS

सुन प्रकरणलाई निष्कर्षमा नपुर्‍याए वर्तमान सरकारको दिनगन्ती सुरु हुन्छ :सभापति लामिछाने


नेपाल आवाज १० श्रावण २०८०, बुधबार १६:३२ मा प्रकाशित १८०१ पाठक संख्या

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याउन नसके वर्तमान सरकारको दिनगन्ती सुरु हुने बताएका छ्न्।


बुधबार प्रतिनिधिसभा बैठकमा लामिछानेले भुटानी शरणार्थी, ललिता निवास जस्ता प्रकरणलाई निष्कर्षमा पुर्‍याउन नसकेको अवस्थामा सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याउन नसके सरकार दिनगन्ती सुरु हुने बताए।

सभापति लामिछानेले यस्ता तस्करीका घटनामा सरकारले कर्मचारीलाई सरुवा गरेर कारबाही गर्छ कि पुरस्कार दिन्छ भन्दै प्रश्न गरे। उनले त्यस्ता कर्मचारीलाई तत्काल बर्खास्त गरी थुन्न माग गरे।

सभापति लामिछानेले भने, ‘हरेक विषय सरकारले सुरू गर्छ, अलि जरोसम्म पुग्छ कि भन्यो अड्किन्छ, गिजोलिन्छ। भुटानी शरणार्थी प्रकरणमा जरो कहाँ सारा जनतालाई थाहा छ, सुरूवात गर्‍यो सरकार अड्कियो। सुन काण्डको जरो कहाँ छ। आरोपितको नाम आइरहेको छ नि! सरकार जरोमा जाँदैन ।’

नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन काण्डबारे सरकारले फाइल खोले पनि जरोसम्म नपुगेको उनले बताए। उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले गरेको प्रयासलाई रास्वापाले गरेको समर्थन फाइदाका रुपमा नलिन समेत सुझाव दिए।

लामिछानेले सुन तस्करी सेटिङमा भइरहेको आरोप लगाउदै यस बिषयमा गृहमन्त्रीले सदनमा चितवुझ्दो जवाफ दिनुपर्ने माग गरे। उनले सुन प्रकरणमा कर्मचारीहरुमाथि अनुसन्धान गर्नुपर्नेमा सरुवा मात्र गरेको भन्दै आपत्ती जनाए।